सबैले देख्छन् आकाश अग्लो
तर खोइ किन हो कुन्नि !
तर मलाई आकाश हातैले भेट्छु जस्तो लाग्छ ।
सबैले भन्छन्,
बाँस अग्लो भएरै हो ऊ झुकेको ।
तर खोइ किन हो कुन्नि ?
मलाई बाँस छाताको डन्डीजस्तो लाग्छ ।
उफ्रिनु र कुपृनु फरक हुन्न भने ?
बग्नु र जम्नु फरक हुन्न भने ?
जन्मनु र मर्नु फरक हुन्न भने ?
दुख्नु र दुखाउनु फरक हुन्न भने ?
यात्राका पैतालाहरू र निद्राका सिरानीका अर्थहरू
एकै हुन्थे भने,
ए ! भनन साथी हो !
बरफ र आगोका परिभाषा कसरी फरक भए ?
तिमीले देख्ने दृश्य
र मैले देख्ने दृश्यमा नितान्त फरक छन् ।
तिमीले पढ्ने पुस्तक
र मैले पढ्ने पुस्तकका अर्थ नितान्त फरक छन् ।
तिमीले कोरेका समानान्तर रेखा र मैले बुझ्ने गरेका
जीवनका वक्र कहाँ समान हुन्छन् र साथी ?
यत्ति बुझ्नू;
एउटै माटोमा रोपे भन्दैमा
कागती र सुन्तलाको स्वाद एउटै हुन्छन् र साथी ?
हुन्छन् भने,
मलाई यत्ति भन्नू छ साथी ।
तिमी विम्बको भन्दा,
प्रतिविम्बको मीयोमा नारिएका छौ ।
तिमीलाई यत्ति भन्नू छ साथी ।
राजबाबु श्रेष्ठ “सागर”