काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पक्राउ परेकाहरुलाई थुनामा राख्नुको कारण पेश गर्न आदेश दिएको छ । शुक्रबार सर्वोच्चका न्यायाधीश डा. कुमार चुडालको एकल इजलासले बन्दी प्रत्यक्षीकरणको आदेश किन जारी नहुनु पर्ने हो भन्दै बाटोको म्याद बाहेक २४ घण्टाभित्र लिखित जवाफ पेश गर्न गृह मन्त्रालयलाई आदेश गरेको हो ।
आफूलाई गैरकानूनी रुपमा थुनामा राखिएको भन्दै धर्मप्रसाद गौतम, सुधीरकुमार शाह र मिनबहादुर गुरुङ सर्वोच्च अदालत पुगेका थिए । उनीहरुले हदम्याद सकिएको विषयमा आफूहरुलाई पक्राउ गरेर सरकारले कानूनको उल्लंघन गरेको र आफूहरुको मौलिक हक हनन् भएको दाबी गरेका थिए ।
ललितानिवास जग्गा अनियमितता प्रकरणमा प्रहरीले सार्वजनिक लिखत कीर्ते कसूरअन्तर्गत अनुसन्धान गर्न भन्दै उनीहरुलाई पक्राउ गरेको थियो ।