नेपालमा अहिलेसम्म कतिपय ऐतिहासिक, प्राकृतिक, कृतिम क्षेत्रहरू ओझेलमा परेका या धेरैलाई थाहा नभएका पनि छन् । यसलाई खोजी गर्ने काम धेरै बाँकी रहेका देखिन्छन् । त्यस्ता हजारौं, लाखौं मध्येका रामेछाप, भलुवाजोरको यो “तिल्केस्थान डाँडो (थुम्को)” पनि ऐतिहासिक दृष्टिबाट ओभेलमा रहेको एक हो ।
ऐतिहासिक तिल्केस्थान गढी
यो तिल्केस्थान डाँडो साविक भलुवाजोर गा.वि.स. वडा नं.३ को शीर, छितकुण्ड (सीता कुण्ड) र सिमपानीको पनि शीरको रूपमा रहेको टाकुरो हो । हाल यो स्थान मन्थली न.पा. वडा नं.६ र रामेछाप न.पा. वडा नं.८ को सीमानामा पर्न गएको छ । यो डाँडोको उत्तरी अक्षांश २७ डिग्री २१” पूर्वी देशान्तर ८६ डिग्रीमा रहेको छ । यसको उचाई उचाइ समुद्री सतहबाट १,६४८ मिटर रहेको छ । साथै रामेछाप जिल्ला सदरमुकामबाट ४,१०० मिटरको दक्षिणी क्षेत्रमा पर्दछ ।
यो अति प्रचालिन स्थान सदरमुकामको नजिक रहेर पनि ओझेलमा पर्न गएको छ । यो एकातिर प्रकृति प्रदत्त प्राकृतिक र अर्को तर्फ देश रक्षाको लागि तयार गरिएको बनाइएको स्थान हो । दुवै प्रकारबाट यो स्थान विकासको बाटो पर्खिरहेको धेरै वर्ष भयो । लामो इतिहास बोकेर बस्दा ठूलो वनस्पति बहुरंगका गुराँस र विभिन्न प्रकारका ऐसेलु, काफल, कटुस आदिले ढाकिएको थुम्को हो । यसको वरिपरि बस्ती नभएर जंगलले ढाकिएको छ । त्यहाँ चिलाउने, फडिल, धँगेरो, अंगेरी आदि विभिन्न जातका रूखको जंगल छ ।
त्यहाँ भएका फलफूल खान र शोभा दिनका लागि सदावहार रहने र मौसम अनुसार टाढाबाट आउने बहुजातीय चराचुरुंगीहरूले आ–आफ्नो भाकामा गीत गाउने र कराउने मिठा शब्दले मेला भर्दछन् । जाडोमा घाम लाग्ने र गर्मीमा सितल हावा चल्ने स्थानको कारण वन्यजन्तुको पनि त्यहाँ वरिपरि बासस्थान रहेको छ । त्यहाँ पाइने जनावरमा मृग, चितुवा, खरायो, दुम्सीका साथै उच्च स्थानमा पाइने अन्य जनावर पनि मौसम अनुसार पाइन्छन् ।
यो स्थान दक्षिण तर्फ ढुंगे पहाड भएकोले पहरामा बस्ने खाले सबै प्रकारका प्राणी आउने जाने गर्दछन् । त्यसैले यो डाँडो चैत्र बैशाखमा “कुहु कुहु” र “काफल पाक्यो” भन्ने मीठो र सुरिलो आवाज सुनी रमाई आफ्नो लामो समय विताई रहेको छ ।
यो डाँडाको बनावट, महत्व र नामाकरण हुन गएको त्यही डाँडाको टुप्पोलाई मात्र थाहा भएको छ । त्यस स्थानको महत्व देखाउन आर्थिक, सामाजिक, वैचारिकताका लागि पनि विकास गर्न सकेमा आन्तरिक तथा वाह्य पर्यटकहरूको ध्यान आकर्षण गर्ने स्थलको केन्द्र बन्न सक्ने संभावना रहेको छ । यसले बोकेका सम्भावना र वरिपरि देखिने विकासका पाइला समेत त्यहाँ पुग्ने जो कोहिलाई मात्र थाहा छ । यो हाल रामेछाप न.पा. वडा नं. ८ र मन्थली न.पा.६ का बीचमा रहेकोले अझ ठूलो छिटो विकास हुन सक्ने आशा लिन सकिन्छ ।
हाल रामेछाप न.पा.का तर्फबाट प्रारम्भ कार्य र मन्थली न.पा.बाट लिफ्ट प्रणालीबाट पानी ल्याउँदै गरेको र पिकनिक आदिको व्यवस्थालाई पूर्णता दिए पछि अवश्यनै यो स्थानको कायपलट हुन सक्छ । फलस्वरूप यी दुवै क्षेत्रको विकास हुन जाने प्राय निश्चित छ । हाल त्यहाँका गाउँबाट विस्थापित भएका युवा लगायत सबै मानिस आफ्नो पाखो बारीलाई पनि विकास गरी बस्ने छन् भन्ने आशा लिन सकिन्छ । त्यसैले भविष्यको विकासको पर्खाईको आशामा रहेको छ ।
यो “तिल्के स्थान” भन्ने नाम विभिन्न प्रकारबाट भएको मान्न सकिन्छ । त्यो तिल्केस्थान भन्दा टल्कने स्थान (त्यहाँको डाँडाको टुप्पोमा पहिले ठूला ठूला टल्कने ढुंगाले ढाकेकोले वरिपरि टाढाबाट पनि बेलुकाको घाम टल्कने हुँदा तिल्केस्थान भन्ने गरेको बुढापाकाको भनाई रहेको छ ।
अघि सिन्धुलीगढिमा अंगे्रजहरूको आक्रमण पछि रामेछाप र नजिकैका अन्य जिल्लाहरूका क्षेत्रहरूको विजयी गर्ने उद्देश्य राखीे खुरकोट हुँदै रामेछाप प्रवेश गर्ने संभावना भएको थियो । जब अंगे्रजहरूको प्रवेश हुन्छ भने पछि सिंधुली गढिमा र यो तिल्के स्थान डाँडाको टुप्पोमा गढि डाँडामा आएका शत्रुसँग लडाई गर्न सुरूंग बनाई सैनिकको व्यवस्था गरिएको थियो ।
तर सिन्धुली माढिबाटै लखेटेकोले अघि बढ्न सकेनन् । त्यो स्थानमा बनाइएको “सैनिक तिलङ्गा या कम्फु कोट” भन्दै गर्दा तिल्के स्थान नाम हुन गएको बलियो संभावना छ । त्यस समयमा त्यहाँ सैनिकको व्यवस्था गरेको थियो । साविक भलुवाजोर गा.वि.स.को वडा नं. ३ र ७ को तिल्के स्थान डाँडामा बनाईएको सुरुङ्ग र वडा नं. ६, कोटगाउँको बन्दोबस्ती सामान राख्ने अर्को सुुरूङ्गबाट पनि तिल्के स्थान र कोटगाउँको नामकरण भएको हुन सक्दछ ।
ती दुवै सुरूङ्ग अहिले संरक्षणको अभावमा प्राय लोप हुने अवस्थामा पुगेका छन् । त्यस्ता ऐतिहासिक स्थानहरूको सुरक्षा मात्र नभई संभार, प्रचार, प्रसार गर्नु पर्ने अति जरुरी देखिन्छ । यसको महत्व र वास्तविकताको महत्व बुझ्न अति जरुरी छ । यसबाट स्थानीय पर्यटकको साथै बाहिरी पर्यटकहरू ल्याउन सकेमा जिल्लाको नाम सहित आयस्रोत हुन सक्ने संभावना छ ।
यो स्थान खुर्कोट वा सेलेघाटबाट सगरमाथा व्यस क्याम्पसम्म जाने पदयात्राको पनि ठूलो संभावना देखिन्छ । उपरोक्त विभिन्न कुरालाई ध्यानमा राखी यो ठाउँ र त्यहाँबाट अवलोकित स्थानको समेत बिस्तृत रूपमा अध्ययन अनुसन्धान गरी अझ बढि ऐतिहासिक कुरा पत्ता लाग्ने छ र लगाउन पनि अति जरुरी देखिएको छ ।
उल्लेखित ऐतिहासिक तथा प्राकृतिक महत्वको अलावा यो डाँडाको अवस्थित दृश्यावलोकन अनुसार अरू धेरै महत्व रहेको छ । यो डाँडाको दक्षिण र उत्तर पश्चिम सुनकोसी र उत्तर तर्फ तामाकोसी वहेकोले धेरै टाढासम्म रमणीय देखिन्छ । यस स्थानबाट नेपालको महत्व बोकेका हिमालहरू मध्ये सगरमाथा, चुम्लिंग, मकालु, अम्वाडव्लम आदि र दोलखा जिल्लामा पर्ने गौरीशंकर, रोल्वालिंग जस्ता धेरै हिमालका शृंखलाहरू देखिन्छन् ।
यी हिमालहरूको अलावा दुधकुण्ड, पाँचपोखरी, जटापोखरी, च्छोरोल्पा ताल र थाङ्बोचे क्षेत्र, जिरी क्षेत्र केही टाढा भए पनि आधुनिक प्रविधिहरूको प्रयोग प्रयोग गरी वरिपरि देख्न सकिन्छन् । खास गरी यो डाँडाबाट नजिकै देखिने सिंधुलीको ऐतिहासिक गढी डाँडो र त्यो डाँडाको पूर्व पश्चिम ढाकेर फैलिएको महाभारत लेकका धेरै सृंखलाहरू रमणीय देखिन्छन् । त्यसको साथै चारैतिर पर्ने काभ्रे, दोलखा, सोलु, ओखल्ढुंगाका केही भागहरू र रामेछापका वरिपरि रहेका ठूला ऐतिहासिक र प्राकृतिक रमरीणय भूभाग अझ बढि देखिनुका साथै त्यहाँरहेका विभिन्न देविदेवताहरूका मठन्दिरहरू पनि अवलोकन गर्न सकिन्छ । त्यस डाँडाबाट सबै भन्दा नजिकका मन्दिरमा केवलेश्वर महादेव र भलुवाजोरको कालिका देवी, ढुंगेश्वर महादेव आदि जस्ता धेरै मन्दिरहरू वरिपरि रहेका छन् । साथै विभिन्न डाँडाको टापुमा रहेका बौद्ध माने पनि देखिन्छन् ।
रणजोर, सुकाजोर तथा भटौली खोला आदिको शीरको बनावट र त्यसले विगारेको प्राकृतिक छटा नजिकै देख्न सकिन्छ ।
पहिले दोलखा र सिन्धुलीको संरक्षण र सुरक्षाका लागि रामेछापमा राखिएको सैनिकबाट नै गरिएको थियो । त्यसै सैनिकले यो डाँडाको पनि रेखदेख गर्ने गरिएको कुरा बुझिएका छ । जब नेपाल एकीकरण हुँदै गएपछि विजयी स्थानको रक्षाको लागि तत्कालिन सरकारले रामेछापका विभिन्न स्थानमा केही सैनिक या पूर्व सैनिकको जिम्मामा राखिएको थियो ।
ती मध्ये तिल्के स्थान समेतको रक्षार्थे भलुवाजोरमा पूर्व सैनिक बडा ऐमानसिंह (अहिमानसिंह) थापालाई ती किल्ला र विजयी स्थानलाई सुरक्षित राख्ने कामको जिम्मेवारी दिई तत्कालिन सरकारले नै व्यवस्था गरेको थियो । त्यसका लागि वि.सं. १८३६/३७ साल तिर त्यहाँ स्थायी बसोबास गर्ने गरी उहाँलाई तत्कालिन रीतिरिवाज, नीति तथा साँस्कृतिक व्यवस्था अनुसार ब्राह्मण लगायत सबै थरिका मानिसहरू खटाई विभिन्न स्थानमा राखिएको पनि आज सम्मको बसाईको अवस्था अनुसार सबैले बुझेको विषय हो ।
त्यो तिल्के स्थान डाँकाको र भलुवाजोरमा रक्षार्थ खटाइएको बारेमा धेरै इतिहास र पुरातात्विक सम्बन्धी लेख तथा तत्कालिन देश र सरकारले गरेकोे व्यवस्था अनुसार अथार्थ बस्तु स्थिति बुझ्न र जानकारी लिन सकिन्छ ।
(लेखक थापा, मन्थली नगरपालिका वडा नं. ६ का स्थानीय तथा साँस्कृतिक अभियान्ता समेत हुन् ।)
देशभरी कति कोट, गढी तथा पूराना दरबारहरु संरक्षणको अभावमा जीर्ण मात्रै होइन, अस्तित्व नै गुमाउन पनि पुगिसकेका छन् । यस्तै मध्येको एउटा ऐतिहासिक क्षेत्र हो रामेछापको तिल्केस्थान गढी ।
राजा पृथ्वीनारायण शाहले अंग्रेज फौजसँगको लडाईका बेला यदि सिन्धुलीगढी किल्ला हारेमा त्यसको विकल्पका रूपमा तिल्केस्थान गढी (किल्ला) बनाउन लगाएका थिए । यदि सिन्धुली गढीबाट अंग्रेजहरु अघि बढेको खण्डमा तिल्केस्थान गढीबाट त्यसको प्रतिकार गर्ने उदेश्यले त्यहाँ ठूला ठूला बङ्कर बनाईएका थिए । ती बङ्करहरु अहिले पनि छन् ।
तर, अंग्रेजहरु सिन्धुली गढीबाटै लखेटिए । तिल्केस्थान गढीबाट लड्नु परेन । त्यसैले, राष्ट्रिय सुरक्षा र अन्तराष्ट्रिय फौजसँगको लडाईमा प्रत्यक्ष र परोक्ष रुपमा जोडिएको एउटा ऐतिहासिक भूमी भएकाले पनि तिल्केस्थान गढीको महत्व बढी छ ।
२०७४ सालको निर्वाचनपछि आएका जनप्रतिनिधिको नजरमा यो ऐतिहासिक भूमी पर्न गयो । विशेष गरी मन्थली नगरपालिकाले यसमा बढी चासो देखायो ।
तिल्केस्थान गढी साविक भलुवाजोर गा.वि.स. वडा नं.३ र ४ को शीर हो । हाल यो भूमी मन्थली नगरपालिकाको वडा नम्बर ६ र रामेछाप नगरको वडा नम्बर ८ को सीमा क्षेत्रमा परेको छ ।
समुद्री सतहबाट १६ सय ४८ मिटरको उचाईमा रहेको तिल्केस्थान गढीमा मन्थली नगरपालिकाले पर्यटकीय पूर्वाधारहरु पनि बनाएको छ । गढीसम्म पुग्न फेदीबाट खुड्किाला हालिएका छन् । खुड्किलाका दुवैतर्फ रेलिङ राखिएको छ ।
गढीको बीचमा मन्दिर बनाईएको छ । यद्यपी, यो मन्दिर आवश्यक छैन भन्ने कोणबाट कुराहरु उठ्न थालेका छन् ।
बङ्करको वरीपरी चप्लेटी ढुंगा विछ्याएर चिटिक्क पारिएको छ ।
छोटो इतिहास
तिल्केस्थान गढीमा अंग्रेज फौजसँगको नेपालको युद्धताका सैनिक बस्थे । त्यहाँ बस्ने सैनिक र युद्धका सामग्री भण्डारणका लागि साविक भलुवाजोर गा.वि.स.को वडा नं. ६ मा अर्को सुरुङ बनाईएको थियो भन्ने गरिन्छ । त्यहीँ सुरुङको नामबाट साविक भलुवाजोर गा.वि.स.को वडा नं. ६ लाई ‘कोटगाउँ’ भनिएको हो भन्ने किंवदन्ती छ ।
नेपाल एकीकरणमा विजयी स्थानको रक्षा गर्न सैनिक खटाउने क्रममा तिल्केस्थान गढीको सुरक्षा गर्ने जिम्मा सहित भलुवाजोरमा पूर्व सैनिक बडा ऐमानसिंह (अहिमानसिंह) थापालाई खटाईएको इतिहास छ । वि.सं. १८३६ सालतिर अहिमानसिंह थापालाई भलुवाजोरमा स्थायी बसोबास नै गर्ने गरी आवश्यक सबै बन्दोबस्त गरेर खटाईएको विषय राष्ट्रिय विभूती अमरसिंह थापा प्रतिष्ठानले प्रकाशन गरेका पुस्तकहरुमा समेत उल्लेख छ ।
ती सैनिकहरु माडी चौरमा परेड खेल्थे पनि भनिन्छ । माडी चौर तिल्केस्थान गढीमा देश रक्षर्थ खटिएका सैनिकहरुको पनि तालिम गर्ने थलो हो ।
उत्तर–दक्षिण दृश्यावलोकन, लोपन्मुख गिद्धको बासस्थान
गुराँस, मौवा, चिलाउने, फँडील, काफल जस्ता ठूला जातका बोटविरुवासहित भूँइ झारजन्य जडीबुटी पनि पाईने यो टाकुरामा स्वच्छ हावा पाइन्छ ।
नजिकै अवस्थित केवलेश्वर महादेव मन्दिर (रामेछाप नगरपालिका वडा नम्बर ८) बाट २० मिनेटको पैदल यात्रामा पुग्न सकिने तिल्केस्थान गढी मध्य पहाडको एउटा सम्भावना बोकेको ग्रामिण पर्यटकीय गन्तव्य हो । नजिकै बस्ती नभई जंगलै जंगलले घेरिएको मात्रै नभई तामाकोशी र सुनकोशी बीचको अग्लो टाकुरो भएकाले यो थुम्काको भू–बनोट पनि अत्यन्त सुन्दर छ ।
जाडो महिनामा बिहान गौरिशंकर हिमालबाट उदाएको घामको झिल्को ठ्याक्कै यो डाँडामा ठोकिन्छ र, साँझसम्म न्यायो भईरहन्छ । गर्मी महिनामा सितलाले शरीरलाई फुर्ति दिलाईरहन्छ ।
त्यसैले पनि सो क्षेत्र विभिन्न जनारको बासस्थान पनि बनेको छ । यो स्थानको दक्षिणतर्फ ‘गिद्धले छेर्ने पहरो’ (गिद्धहरु बस्ने भएकाले) भनिने ढुङ्गे पहाड छ । लोपन्मुख गिद्धको बसोबास त्यहाँ आज पर्यन्त पनि छ । गिद्धको विषयमा अध्ययन गर्न चाहनेहरुका लागि पनि यो ठाउँ ‘विश्वविद्यालय’ सरह हो भन्न सकिन्छ ।
सँगै, तिल्केस्थानको टाकुराबाट दक्षिणमा महाभारत चुरे (सिन्धुलीको हरिहरपुर गढी क्षेत्र), सुनकोशी किरानाका मनोरम फाँट (हाईबार बेसी र ग्वाल्टार), ऐतिहासिक सिन्धुली गढी, जुनार सुन्तलाको पकेट क्षेत्र सिन्धुलीको खनियाखर्क, मतानबास डाँडो लगायतका क्षेत्र देख्न सकिन्छ ।
उत्तरतर्फ मनै लोभ्याउने गौरिशंकर हिमाल, मकालु हिमाल, रोल्वालिङ हिम श्रृङ्खला, सैलुङ क्षेत्र, आकाश खुलेको समयमा सगरमाथा क्षेत्रसमेत यो भूमीबाट देख्न सकिन्छ । असार साउन र मंसिरमा मन्थलीको माँडीफाँटको दृश्य सबैभन्दा सुन्दर कतैबाट देखिन्छ भने, त्यो तिल्केस्थान गढीबाट मात्रै देखिन्छ ।
अपार सम्भावना
यो क्षेत्र सुख्खाग्रस्त क्षेत्र हो । पर्यावरणीय दृष्टिले मानव तथा जीवजन्तुको बसोबासका लागि अत्यन्त लाभदायक क्षेत्र हुँदाहुँदै पनि यो क्षेत्रमा खानेपानीको समस्या छ । रामेछाप र मन्थली दुबैतर्फ खानेपानीका योजना बन्ने क्रम विगत केही वर्षदेखि सुरु भएको छ ।
भलुवाजोरतर्फ त तामाकोशीको पानी तिल्केस्थान गढीको फेदीमा बनाईएको ट्याङ्कीमा झर्न थालिसकेको छ । यसले तिल्केस्थान गढी आसपाससहित भलुवाजोरको विकासको सम्भावनाको ढोका खोलेको छ ।
यो क्षेत्रमा जुनार खेतीको सम्भावना धेरै छ । ग्रामिण कृषिलाई ग्रामिण पर्यटनमा जोड्न सकिए भलुवाजोरको अपार सफलता अब टाढा छैन ।
सँगै, तिल्केस्थान गढी पछाडीको ढुङ्गे पहाडमा पनि ‘रक क्लाईम्बिङ’ जस्ता ‘साहसिक पर्यटकीय खेल’हरु खेलाउन सकिन्छ ।
यसका लागि लगानी जुटाउनु वा लगानीकर्ता खोज्नु यस क्षेत्रका युवाहरुको जिम्मेवारी हो।
रामेछापको सभ्यतामा ल्याङल्याङको स्थान उच्च छ । त्यहाँ एउटा भीमसेनको प्रसिद्ध पुरानो मन्दिर छ । यस मन्दिरमा काजी अमरसिंह थापाले चढाएको एउटा घण्ट छ । ल्याङल्याङ आत्मनिर्भर भएको प्रमाणको रूपमा यहाँको खानीबाट फलाम निकालेर ल्याङल्याङमै प्रशोधन गर्ने गरिन्थ्यो । पहिले पहिले आफ्नै बारीमा ज्यापु छरेर कपास फलाइन्थ्यो । घरैपिच्छे तान राखेर, खाडी बुन्ने गरिन्थ्यो । ल्याङल्याङको डाँडैभरी फलाम प्रशोधन गरेर निस्किएका किटको थुप्रो आज पनि देख्न पाइन्छ । भङ्गेरीको झगडे चौर आसपासको प्रशोधन गरेका किटका थुप्रालाई किटिनी भनिन्छ । यसको तिथि मिति कोही भन्न सक्दैन ।
समग्रमा यसरी हेर्दा रामेछाप, ल्याङल्याङ र मन्थली नगरपालिकाको सिमानाको भलुवाजोर क्षेत्र मानव सभ्यतामा निकै पुरानो छ । रामेछाप र भलुवाजोरको सिमानामा आजसम्म पनि एउटा भब्य र ब्यवस्थित युद्ध गढी देख्न पाइन्छ । यो गढी नेपाल-अङ्ग्रेज युद्धताका काजी अमरसिंह थापाले बनाएका हुन्, भन्ने गरिएको छ । एक समयमा रामेछाप मल्ल शासित र सिन्धुली सेन शासित राज्य थिए । त्यस समयमा आआफ्ना राज्यको सुरक्षाका खातिर त्यसै बेलादेखि यहाँ गढी बनेका हुनसक्छन् । कसैकसैका विस्वास अनुसार, यी गढी किरातकाल देखिकै हुन् । यी सवै भनाईहरूबाट नेपालका गढी र किल्लाहरूका बारेमा गहिराे अध्ययन हुनु जरुरी देखियाे ।
यहाँ गढी बन्नु पहिले तिल्के राजाको राजदरवारको अवशेष थियो । त्यसैले त्यस गढीको नाम तिल्केस्थान गढी भन्ने गरिन्छ । सेना लुक्नको निम्ति तिल्के थुम्काको वरिपरी गहिरो घेरा खनिएको छ । त्यहाँ अन्दाजी एक हजार जति मानिस अटाउन सक्छन् । त्यस खाल्टामा निकै डरलाग्दो अजिङ्गर बस्थ्यो, त्यस ठाउँमा जो अगाडि पर्छ उसैलाई निल्थ्यो, भन्ने भनाइ समेत छ ।
भलुवाजोर, रामेछाप, भङ्गेरी, बावियाखर्क, डुम्रीखर्क, हिलेपानी, सिमपानी, ल्याङल्याङ क्षेत्रमा लामो खँडेरी पर्योज भने तिल्केस्थानमा खाँडादेवीको पूजा गर्ने चलन अझै पनि छ । यो विश्वासबाट यस्तो लाग्छ, त्यहाँ तिल्के राजाको दैवी सासन आजसम्म कायमै रहेको भान हुन्छ । तिल्केकी देवी खुसी हुँदा पानी पर्छ भन्ने जनविस्वास छ । कुनै काज भोज पर्यो भने तिल्केस्थानको आसपासमा रहेको गुफामा गएर पूजा गर्योि भने, गाग्री, खड्कुला, डाडु, पन्यौं, थाल, कचौराआदि माग बमोजिमका भाँडाकुँडा पाइन्थ्यो, रे । बुझाउँदा माझेर सफा परिएका भाँडा, पहिले जस्तै धूपधुवार गरेर बुझाउनु पर्थ्यो । कुनै मानिसले भाँडा लगेर काम सक्यो, बुझाउने बेलामा अल्छी गरेर लापर्वाही पूर्वक नमाझिकन जुठा भाँडा बुझाएकाले देउता रिसाए । त्यसपछि जति पुकारा गरेपनि भाँडाकुँडा पाइन छाड्यो, भन्ने जनविस्वास छ ।
तिल्केस्थान गढीका धेरै नाम छन् । स्थानीयहरू यसलाई इन्छिनडाँडा पनि भन्दछन् । तर इन्छिनडाँडा भने तिल्केस्थान भन्दा केही तल छ । सिन्धुली जिल्लाको सुनकोशी गढतीर तिरबाट तिल्केस्थान देखिन्छ । उनीहरू तिल्केस्थान वा इन्छिनडाँडा नभनेर ‘जैसीथुम्को’ भन्दछन् । जैसी थुम्कामा बादल लाग्यो भने; ग्वालटार, हैबार, बलेनी, खुर्कोटआदि ठाउँमा बर्षा हुन्छ । तिल्केस्थान डाँडामा बादल देखियो भने सिन्धुलीको त्यस क्षेत्रका मानिसहरू ‘आज पानी पर्छ’ भनेर भविश्य बाणी गर्ने गर्छन् । त्यस समयमा पानी परेरै छाड्छ । भविश्यबाणी मिल्ने भएर यस थुम्कालाई ‘जोतिषी थुम्को’ भन्न थालियो । जोतिषी थुम्को भन्दा भन्दै जिब्रालाई सजिलो पार्ने हुँदा अचेल ‘जैसीथुम्को’ भन्ने गरिएको छ । जेजे नाम भए पनि यस थुम्काबाट सुनकोशी, तामाकोशी, लिखु उपत्यका र महाभारत पहाडको धेरै टाढाटाढासम्मको भूभाग देख्न सकिन्छ ।
एकथरीकाे कथन अनुसार नेपाल-अङ्ग्रेज युद्धका समयमा सिन्धुली गढी हारियो भने बाँकी पहाड बचाउन निर्माण गरिएको भित्री गढी पनि हुनसक्छ । यस्ता समकालीन गढीहरू अन्यत्र पनि थुम्का थुम्कामा स्थापित थिए । रामेछापमा खाँडादेवी मन्दिर भएको ठाउँमा खाँडादेवी गढी, बाङ्गेसल्ला चिसापानीमा, घडीछाप गढी लगायत थुमथुममा बनाइएका रहेछन् । हुन त सैपुको आहालडाँडा र विजुलीकोटको थाममा पनि गढी छन् । खाँडादेवी मन्दिर रहेका स्थानमा भएको गढी मन्दिरको वातावरण सुधार गर्ने सन्दर्भमा पुरिएर नामो निशान समाप्त पारिएको अवस्था छ । अन्य गढीहरू यथावत छन् ।
सुरज कुमार थापा
मन्थली न.पा.-६,रामेछाप ।