काठमाडौं- सामाजिक सञ्जाल फेसबुकमार्फत नाबालिकाको चरित्रहत्या गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-६ घर भई काठमाडौं महानगरपालिका-२६ गोल्खुपाखा बस्ने २२ वर्षीय सुमन खत्रीलाई प्रहरीले पक्राउ गरेको हो।
उनले सामाजिक सञ्जाल फेसबुकमा नाबालिकाले पोष्ट गरेका फोटो डाउनलोड गरी विभिन्न फेक आईडी खोली ती आईडीबाट नाबालिकाको फोटो प्रयोग गरी अश्लिल क्याप्सन लेख्ने साथै निज नाबालिका तथा उनकी दिदी र साथीहरूलाई अश्लिल तस्बिर, भिडियो फेसबुक म्यासेन्जरमा पठाई दु:ख, हैरानीका साथै चरित्र हत्या समेत गरेको आरोप छ।
पीडितको उजुरीको आधारमा नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले प्रारम्भिक अनुसन्धान तथा प्राविधिक विश्लेषण गर्ने क्रममा सुमनको संलग्नता खुल्न आएपछि उनलाई ठमेलबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।
उनीमाथि काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद अनुमति लिई विद्युतीय कारोबार ऐन, २०६३ बमोजिमको कसुरमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ