जमुना थिङ
हेटौंडा/ भोलि मंगलबार एकैसाथ बागमती प्रदेशको राजधानी हेटौंडाका तीन विद्यालय बालमैत्री घोषणा हुँदै छ । हेटौंडा-८, स्थित चन्द्रोदय माध्यमिक विद्यालय, हेटौंडा-२,स्थित बालजागृति इङलिस सेेकेण्डरी स्कुल र हेटौंडा-१६,स्थित जनप्रिय माध्यमिक विद्यालयलाई बालमैत्री घोषणा गर्न लागेका हुन् । तर बालमैत्री विद्यालय घोषणामा विद्यालयहरुले होडबाजी गरेको पाइएको छ । गत शुक्रबार बालजागृति इङलिस सेेकेण्डरी स्कुलले पत्रकार सम्मेलन मार्फत बालमैत्री विद्यालय घोषणा गर्न लागिएको जानकारी दिएको थियो । त्यसपश्चात आइतबार चन्द्रोदय माध्यमिक विद्यालय र जनप्रिय मध्यमिक विद्यालयले पनि पत्रकार सम्मेलनमार्फत् सोही दिन मंगलबार विद्यालयलाई बालमैत्री घोषणा गर्न लागेको जनाएको छ । उपमहानगरले सुचकभित्र रहेर काम गर भन्दै पत्राचार गरिएको एक वर्ष दुई महिनापछि विद्यालयहरुले बालमैत्री विद्यालय घोषणा गर्न लागेका हुन् ।
बालजागृति इङलिस सेेकेण्डरी स्कुलले पत्रकार सम्मेलन गरिरहँदासम्म उक्त दिन सामुदायिक विद्यालयतर्फ चन्द्रोदय माध्यमिक विद्यालय मात्र बालमैत्री घोषणा गर्न लागिएको जानकारी थियो । तर एकैदिन दुई विद्यालयले पत्रकार सम्मेलन गर्दै आधिकारिक रुपमा बालमैत्री घोषणा गर्न लागिएको जनाए । बालजागृति इङलिस सेेकेण्डरी स्कुलका प्रधानाध्यापक विनोद सुवेदीले ५ महिनाअघि नै हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखाबाट बालमैत्री घोषणाका लागि सुचक प्रमाणिकरण भएकाे पत्र प्राप्त भएको बताए । जसले गर्दा उपमहानगरको पहिलो बालमैत्री विद्यालयको रुपमा घोषणा हुन लागिएको दावी गरिएको छ । शिक्षा विकास महाशाखाले सामुदायिक विद्यालयसँगै बालमैत्री विद्यालय घोषणा गर्न आग्रह गरेकाले २२ गते बालमैत्री विद्यालय घोषणा गर्न लागिएको बताए ।
यसैगरी हेटौंडा-८, नम्बर वडाका बालमैत्री सहजकर्ता रोजिता दंगालले हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखाबाट सुचक प्रमाणिकरण भएकाे पहिलो पत्र चन्द्रोदय माविले प्राप्त गरिएको दावी गर्दै आइरहेको छ । २०८० साल फागुन २ गते उक्त विद्यालयले अन्य विद्यालयभन्दा अगाडि नै सुचक प्रमाणिकरण पत्र प्राप्त गरिएको उनको भनाइ छ । जसले गर्दा सामुदायिकतर्फ मात्र होइन हेटौंडा उपमहानगरकै पहिलो बालमैत्री विद्यालय घोषणा हुँदै छ भन्ने तर्क राखिन् । चन्दोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक जिधराज ढकालले हामीले अघिपछि पनि विद्यालयलाई बालमैत्री घोषणा गर्न सक्थ्यो । तर विद्यालयको स्थापना दिवस पारेर उक्त दिन विद्यालयलाई बालमैत्री घोषणा गर्न लागिएको जानकारी दिए ।
यस्तै जनप्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक भुपेन्द्र चाैलागाईँले बालमैत्री घोषणाका लागि विद्यालय योग्य रहेको भन्ने कुरा भदौ महिनामै अनुगमनक्रममा पाइएको जानकारी दिए । बालमैत्री विद्यालय घोषणाका लागि हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखाबाट प्रमाणीकरण पत्र लिनुपर्छ भन्ने जानकारी थिएन । त्यसले गर्दा फागुन १७ गते मात्र शिक्षा महाशाखाबाट प्रमाणीकरण पत्र बुझिएको जानकारी दिए । बालमैत्री विद्यालय घोषणामा होडबाजी किन भन्ने प्रश्नमा उनले एकैदिन तीन वटा विद्यालय बालमैत्री विद्यालय घोषणा हुँदै छ । होडबाजीका रुपमा होइन कि पहिलो चरणको रुपमा बालमैत्री विद्यालय घोषणा हुँदै छ भन्ने कुरा बुझ्नुुुपर्ने बताए । पहिलो चरणको रुपमा तीन विद्यालय हुँदै दोस्रो, तेस्रो चरण हुँदै विद्यालयहरु बालमैत्री घोषणा गर्दै लैजानुपर्ने उनको तर्क छ ।
हेटौंडा उपमहानगरले गत वर्ष २०७९ साल पुस २१ गते उपमहानगरभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयलाई पत्राचार गर्दै २६ वटा सुचकभित्र रहेर काम गर्न विद्यालयलाई निर्देशन दिएको थियो । सोही बमोजिम विद्यालयहरुले बाल समुह गठन गरियो । त्यसपश्चात बालमैत्री विद्यालय घोषणाको तयारीमा विद्यालय लागेको जनाएको छ । उक्त सुचकभित्र हेटौंडा उपमहानगरको बालमैत्री स्थानीय शासन अभियानलाई सहयोग पुग्ने गरी बालमैत्री विद्यालय बनाउनुपर्छ भन्ने अभिप्रायले अगाडि बढेको बताएको छ । २६ वटा सुचकहरु पूरा भएको भन्दै उक्त दिन बालमैत्री विद्यालय घोषणा गर्न लागिएको जनाएको छ ।