हेटौंडा । नेपाल विधुत प्राधिकरण कर्मचारी युनियनको ३४औं स्थापना दिवसको अवसरमा हेटौंडा-११ मा रहेको मामाघर नेपालमा खाद्यान्न तथा फलफूल वितरण कार्यक्रम भएको छ । कर्मचारी युनियन बागमती प्रदेश अन्तर्गतका मकवानपुर चितवनले स्थापना दिवसको अवसरमा एक कार्यक्रमका बिच मामाघरलाई खाद्यान्न र फलफूल सहयोग गरेको हो ।
कार्यक्रममा कर्मचारी युनियन बागमती प्रदेशका अध्यक्ष अभिषेक चौहानको अध्यक्षता रहेको थियो भने बागमती प्रदेश सरकारका खानेपानी, उर्जा तथा सिंचाइ मन्त्री एका लाल श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि खानेपानी मन्त्री श्रेष्ठले सडकमा रहेका बालकहरुलाई संरक्षक प्रदान गर्दै आएको मामाघरले राष्ट्रलाई योगदान पुर्याएको बताउनुभयो । सडकपेटीमा कष्टकर जीवन विताउन बाध्य सडक बालकहरुलाई उद्दार गरि उनीहरुको शिक्षा, स्वास्थ, खानपिन र बसोबासको उचित व्यवस्थापन मिलाउदै आएको भन्दै मामाघरको प्रशन्शा गर्नुभयो ।
यसैगरी समाजकल्याण र मानवउत्थानका लागि मामाघरका संस्थापक अर्पण पराजुलीले पुर्याउनु भएको योगदानको कदर समेत गर्नुभयो । साथै कुनै आर्थिक स्रोतविना सडक बालकलाई उद्दार गरि संरक्षण प्रदान गर्नु निकै कठिन हुने बताउदै उहाँले विद्युत प्राधिकरण कर्मचारी युनियनले आफ्नो संस्था स्थापनको अवसरमा खाद्यान्न सहयोग गरेकोमा खुशी व्यक्त गर्दै अरुलाईपनी यस्तै सामाजिक कार्य गर्न प्रेरणा मिल्ने बिश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ का अध्यक्ष जुना दाहाल, कर्मचारी युनियनका केन्द्रिय उपमहासचिव हरिप्रसाद पौडेल, शालिकराम पुडासैनी, उर्मिला श्रेष्ठ, नेपाल विधुत प्राधिकरण केन्द्रिय वर्कसपका प्रमुख रबिन्द्र घिमिरे, कर्मचारी युनियनका केन्द्रीय सदस्य हरी खड्का लगाएत कर्मचारीहरुको सहभागिता रहेको थियो ।







