काठमाडौं । प्रकाश दाहाल स्मृति पहिलो बागमती अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि हेटौंडा उपामहानगरपालिकाले जितेको छ ।बुधबार भएको फाइनल खेलमा हेटौंडाले उत्कृष्ट कमब्याक गर्दै थाहा नगरपालिकालाई २१–२५, १७–२५, २५–१६, २५–१५ र १५–४ ले पराजित गर्यो ।
प्रतियोगितामा महांकाल गाउँपालिका र घ्याकलेक गाउँपालिका तेस्रो भए । उपाधि विजेताले ३ लाख, उपविजेताले २ लाख तथा तेस्रो हुने दुवै टोलीले एक–एक लाख रुपैयाँ पुरस्कार पाए ।
राष्ट्रिय रेफ्री श्रीराम बोगटी र जीतेन्द्र श्रेष्ठले दिएको जानकारी अनुसार थाहा नगरपालिकाका विष्णु क्षेत्री उत्कृष्ट खेलाडी घोषित भए । उपाधि विजेता हेटौंडाका सुजन चोखालले उत्कृष्ट सेटर, उत्कृष्ट लिबरो हेटौंडाका राजन दर्लामी मगर घोषित भए । महांकाल गाउँपालिकाका जीवन सुनार उत्कृष्ट ब्लकर भए । यसैगरी उपाधि विजेता हेटौंडाका पुष्प मैनाली उत्कृष्ट प्रशिक्षक भए । विधागत उत्कृष्ट हुनेले ५० हजार रुपैयाँ पुरस्कार पाएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका छोरी ज्ञानी दाहाल र छोरा प्रकाश दाहालको स्मृतिमा स्थापित प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा प्रतियोगिता सञ्चालन भएको हो ।प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद् र प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको सहयोग थियो । यसैगरी नेपाल भलिबल संघको प्राविधिक सहयोग थियो । ललितपुर जिल्ला खेलकुद विकास समिति सह–आयोजक रहेको थियो ।