काठमाण्डौ । जनता समाजवादी पार्टी नेपालले सरबारबाट बाहिरिने तयारी गरेको छ । हिजो आकस्मिक रूपमा बसेको जसपा नेपाल कार्यकारिणी समितिको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता गर्नेबारे छलफल भएको छ । यसबारे औपचारिक निर्णय भने भैसकेको छैन ।
मधेश प्रदेश सरकारबाट माओवादी र एमालेले समर्थन फिर्ता लिएलगत्तै जसपा नेपालले सङ्घीय सरकारबाट फिर्ता हुने तयारी गरेको हो । जसपा नेपालले नेतृत्व गरेको मधेश प्रदेश सरकारबाट माओवादी र एमालेले हिजो समर्थन फिर्ता लिएका हुन् । मधेशमा अब एमाले, माओवादी केन्द्र, जनमत र लोकतान्त्रिक समाजवादी पार्टी मिलेर सरकार बनाउने सहमति भएको छ ।
सङ्घीय सरकारमा जसपा नेपालबाट पार्टी अध्यक्ष उपेन्द्र यादव उपप्रधान तथा स्वास्थ्य मन्त्री हुनुहुन्छ । पार्टी विभाजनपछि सत्ता समीकरणमै रहने बताएका यादव जसपा नेतृत्वको मधेश सरकार अल्पमतमा परेसँगै सङ्घीय सरकारबाट बाहिरिनु पर्ने बाध्यात्मक अवस्था आएको हो ।
केही दिनअघि यादव नेतृत्वको जसपा नेपाल विभाजन भएर अशोक राईको नेतृत्वमा जसपा गठन भएको छ । जसपा नेपालको ५ सिट सरकारबाट बाहिरिएपछि सत्ता समीकरणमा जनमत र लोसपालाई प्रवेश गराउने तयारी छ ।