काठमाडौँ ।जनता समाजवादी पार्टी(जसपा)ले स्वास्थ्यमन्त्रीमा उपमहासचिव प्रदीप यादवलाई सिफारिस गरेको छ । पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई स्वास्थ्यमन्त्रीमा यादव र स्वास्थ्य राज्यमन्त्रीमा हसिना खानको नाम पठाएको महासचिव मोहम्मद इस्तियाक राईले जानकारी दिए । दुवै जनाले आजै शपथ लिने तयारीसमेत रहेको छ ।
जनता समाजवादी पार्टी, नेपालका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सोमबार नै राजीनामा दिएका थिए । त्यस्तै वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले पनि पदबाट राजीनामा दिएका थिए ।
त्यस्तै जसपाले मन्त्रीमा रञ्जु झाको नाम पनि प्रधानमन्त्रीलाई दिएको छ । तर मन्त्रालय रिक्त नरहेकाले कुनै मन्त्रालय खालि गरेर मात्र उनको टुंगो लाग्ने बताइएको छ । जसपा, नेपाल विभाजनपछि अशोक राई नेतृत्वमा बनेको जसपाबाटै अहिले नवलकिशोर साह सुडी वन तथा वातावरणमन्त्री रहेका छन् ।
१२ सांसद भएको जसपा नेपाल अध्यक्ष उपेन्द्र यादव विदेशमा रहेका बेला वैशाख २३ गते विभाजित भएको हो । सात सांसदसहित अशोक राई नेतृत्वको जसपालाई वैशाख २४ गते नै निर्वाचन आयोगले दलको मान्यता दिइसकेको छ । उपप्रधान तथा स्वास्थ्यमन्त्रीसमेत रहेका यादव अब संसद्मा पाँच सिटको नेतृत्व गर्ने दलको नेतामा सीमित भएका छन् ।
केही समयअघि मात्रै जसपा नेपालबाट बाबुराम भट्टराई नेतृत्वको समूह अलग्गिएको थियो । त्यसअघि महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारीसहितका नेताहरू अलग्गिएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बनाए । महतोले त लोसपाबाट अलग्गिएर छुट्टै मोर्चा सञ्चालन गरेका छन् ।