हेटौंडा/ सुरक्षा प्रयोजनका लागि देशका सबैजसो सहरमा सीसी क्यामरा जडान गरिएको छ । जडानपछि सरोकारवाला निकायको ध्यान जान नसक्दा हेटौंडाका पोलमा झुन्डिएका सीसी क्यामरा बेकामे बनेका छन् । गत जेठ ६ गते हेटौंडामा रहेको एक सुन पसलबाट सुन चोरी भयो । त्यसपश्चात हेटौंडा-२, का सरोज सापकोटा आफ्नो क्यामरामा कैद भएका दृश्य लिएर जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दिन पुगे । तर हेटौंडामा रहेका कुनै पनि सीसी क्यामरा काम नलाग्ने रहेछ । जसले गर्दा चोर समात्न नसकेको उनको भनाइ छ ।
बजारमा सीसी क्यामरा छ भनेर ढुक्कसँग चोर समात्न सकिन्छ भन्ने थियोे । हेटौंडा उपमहानगरपालिका तथा निजी संघसंस्थाले २०७६ सालमा उपमहानगरभित्रका विभिन्न चोक तथा स्थानहरूमा ४७ वटा सीसी क्यामरा जडान गरिएको थियोे । लामो समयदेखि सिसी क्यामरा काम नलाग्ने भएका छन् । पोलमा आगो लाग्ने, तारहरु मर्मत गर्ने गर्दा सिसी क्यामरा बेकामे बन्न पुगेका हुन् ।
तर समयमै मर्मत नहुँदा नागरिकदेखि प्रहरी समस्यामा परेका छन् । सुरक्षा निकायलाई समेत हेटौंडाको मुख्य चोक सीमा चोक बुद्ध चोक लगायत बस पार्क, चाैकी टोल सानो पोखरा, स्कुल रोडका स्थानहरूमा जडान गरिएका सीसी क्यामरा चल्दैन भन्ने थाहा छ । सीसी क्यामरा मर्मतमा कुनै पनि निकायको ध्यानाकर्षण पुगेको छैन । जसले गर्दा सडक दुर्घटनादेखि अपराधीक गतिविधिको अनुसन्धानमा प्रहरीले समस्या झेलिरहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीकाअनुसार अहिलेसम्म व्यक्तिगत रुपमा जडान गरिएका सीसी क्यामराको मद्दतबाट अनुसन्धानका कार्य अगाडि बढिरहेको जानकारी दिए ।
यसैगरी यता हेटौंडा उपमहानगरले भने बजेट अभावको कारण देखाउँदै सीसी क्यामरा मर्मतको विषयलाई हल्का रुपमा लिएको छ । हामीले ध्यानाकर्षण गराएपछि भने हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्याैपानेले आर्थिक वर्षको अन्तिम चरणमा पुगिसकेकाले आगामी नयाँ बजेटमा सिसी क्यामरा मर्मतको विषयलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे । तर सीसी क्यामराको यकिन तथ्यांक भने हेटौंडा उपमहानगर र प्रहरीको दुवै निकायमा छैन । पछिल्लो समय अपराधीक घटना बढेका छन । अपराधी सहजै उम्कने हुँदा नागरिकले असुरक्षाको महसुस गरिरहेका छन् ।