काठमाडौँ: परराष्ट्रमन्त्री डा आरजु राणा देउवा धार्मिक भ्रमणको सिलसिलामा आज भारत प्रस्थान गर्नुभएको छ। मन्त्री डा राणा भारतको झारखण्डस्थित बाबा बैद्यनाथ धाममा पूजाआजाका लागि पुग्नुहुने कार्यक्रम छ।
मन्त्री डा राणालाई परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र मन्त्रालयका उच्च अधिकारीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गर्नुभएको थियो। त्यसपछि मन्त्री डा राणा भारतको विदेश मन्त्रालयद्वारा यही मार्च १७ देखि नयाँ दिल्लीमा आयोजित राइसिना डायलगमा सहभागी हुनुहुनेछ।
भारत सरकारको निमन्त्रणामा उक्त डायलगमा मन्त्री डा राणासहित विश्वका विभिन्न देशका प्रधानमन्त्री तथा विदेशमन्त्रीहरुको सहभागिता रहनेछ। सो कार्यक्रमलाई मन्त्री डा राणाले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ। साथै यही भ्रमणकै क्रममा मन्त्री डा राणाले आफ्नो स्वास्थ्य जाँचको फलो अप पनि गराउनुहुने कार्यक्रम रहेको छ।







