काठमाडौं:- साउदी अरबमा विभिन्न कारणले कारागारमा रहेका ३३ जना नेपाली नागरिकले शाही आममाफी पाएका छन्। पवित्र रमजान १४४७ हिजरी (२०२६) को अवसरमा साउदी अरब सरकारले उनीहरूलाई राजकीय क्षमादान दिएको हो।
परराष्ट्र मन्त्रालयका अनुसार रियादस्थित नेपाली दूतावासमार्फत नेपाल सरकारले आममाफीका लागि गरेको अनुरोधपछि साउदी सरकारले उक्त निर्णय गरेको हो।
मन्त्रालयले साउदी सरकारको यस कदमप्रति कृतज्ञता व्यक्त गर्दै यसलाई नेपाल र साउदी अरबबीचको दीर्घकालीन मित्रता, सद्भाव र सौहार्दपूर्ण द्विपक्षीय सम्बन्धको प्रतीकका रूपमा लिएको जनाएको छ।
मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार आममाफी पाएका नेपालीहरूले साउदी अरबको आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि स्वदेश फर्किनेछन्।
नेपाल सरकारले शाही आममाफी प्रदान गरेकोमा साउदी अरब सरकारप्रति धन्यवाद व्यक्त गर्दै भविष्यमा पनि दुई देशबीचको सहयोग र मैत्री सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरेको छ।






