काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा थुनामा पठाइएको छ। सोमबार, लामिछानेलाई थुनुवा पुर्जी दिएर रूपन्देही जिल्ला कारागार चलान गरिएको जानकारी रूपन्देही प्रहरीका डीएसपी सुरज कार्कीले दिएका छन्।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। सो आदेशपछि शुक्रबार राति पक्राउ परेका लामिछानेलाई शनिबार काठमाडौंबाट भैरहवा लगिएको थियो। आइतबार सरकारी बिदाको कारण उनलाई प्रहरी हिरासतमै राखिएको थियो। सोमबार कार्यालय खुलेसँगै उनलाई कारागार पठाइएको हो।







