काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले युवाहरूलाई वर्तमान राजनीतिक व्यवस्थाको आधारमा मुलुकको भाग्य र भविष्य निर्माण गर्न आह्वान गरेका छन्।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले युवाहरूमा युगीन जिम्मेवारी पूरा गर्ने क्षमता रहेको भन्दै उद्यमशीलता र स्वरोजगारतर्फ लाग्नु आजको आवश्यकता भएको बताए।
“अब यही राजनीतिक व्यवस्थाको जगमा उभिएर समृद्ध नेपाल निर्माण गर्ने जिम्मेवारी युवाहरूको काँधमा छ,” राष्ट्रपति पौडेलले भने। विश्वव्यापीकरण र सूचना प्रविधिको तीव्र विकासको समयमा युवाले विकास, सुशासन र समृद्धिको सपना पूरा गर्नुपर्ने उनले औंल्याए।
युवाको विदेश पलायन रोक्न र स्वदेशमै रोजगारी सिर्जना गर्न उद्यमशीलता विस्तारलाई सरकारले प्राथमिकता दिएको उनले उल्लेख गरे। साथै, प्रविधिमा दक्ष युवालाई स्वदेशमै अवसर दिन सहुलियतपूर्ण कर्जा, युवामैत्री लगानी वातावरण निर्माण र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने नीतिमा सरकार अडिग रहेको जानकारी दिए।







