काठमाडौं: नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल बीच आज भेटवार्ता सम्पन्न भएको छ।
आइतबार बिहान च्यासलस्थित एक नेताको निवासमा भएको भेटमा दुवै नेता करिब आधा घण्टा एक्लाएक्लै छलफलमा जुटेका थिए। भेटवार्तामा आगामी माघमा हुने राष्ट्रियसभाको निर्वाचनमा सहकार्य गर्ने विषयमा केन्द्रित छलफल भएको बताइएको छ।
यसका साथै जेनजी आन्दोलनपछिको समग्र अवस्था, फागुन २१ गते तय भएको निर्वाचनको तयारीका सन्दर्भमा सरकारले गरेका कामको समीक्षा तथा सम्भावित चुनावी सहकार्यका विषयमा पनि दुई नेताबीच विचारविमर्श भएको स्रोतले जनाएको छ।
प्रचण्ड आजै नयाँ दिल्ली उड्ने कार्यतालिका छ। उनी पार्टीनिकट प्रवासी संगठनको भेलालाई सम्बोधन गर्न आज नयाँ दिल्ली जान लागेका हुन्। उनको अन्य कार्यक्रम भने खुलाईएको छैन । दाहाल सोमबार साँझ काठमाडौं फर्किने कार्यतालिका रहेको उनको सचिवालयले जनाएको छ।







