काठमाडौं: प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतपत्र छपाइ आजदेखि सुरु हुँदैछ। सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा नमुना मतपत्र छपाइ सकिएपछि वास्तविक मतपत्र छपाइ प्रारम्भ गर्न लागिएको हो। मतपत्र छपाइको कार्य नेपाली सेनाको सुरक्षा घेरामा सञ्चालन हुनेछ।
निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ कुल मतदाताभन्दा पाँचदेखि सात प्रतिशतसम्म बढी मतपत्र छापिनेछ। औसतमा करिब दुई करोड मतपत्र समानुपातिकका लागि छपाइ हुने जनाइएको छ। फागुन २१ गते हुने निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता सहभागी हुने आयोगले जनाएको छ।
आयोगबाट स्वीकृत डिजाइनअनुसार समानुपातिक मतपत्र सेतो कागजमा कालो रङ प्रयोग गरेर छापिनेछ। समानुपातिक निर्वाचनमा सहभागी भई बन्दसूची पेस गरेका ५८ राजनीतिक दलका चुनाव चिह्न मतपत्रमा समावेश हुनेछन्। समानुपातिकतर्फ देशभर एउटै प्रकारको मतपत्र प्रयोग हुनेछ भने प्रत्यक्षतर्फ निर्वाचन क्षेत्रअनुसार फरक–फरक मतपत्र हुनेछन्।
समानुपातिकतर्फ राजनीतिक दलहरूले पुस १३ र १४ गते बन्दसूची बुझाएका थिए। आयोगले ती सूचीको जाँचबुझ गर्दा सबै दलका सूचीमा केही न केही त्रुटि भेटिएकाले सच्याउनका लागि पत्राचार गरिसकेको छ। आयोगले पुस २७ गतेसम्म बन्दसूची सच्याउने समय दिएको छ भने पुस २८ गते उम्मेदवारले चाहेमा बन्दसूचीबाट नाम फिर्ता लिन निवेदन दिन सक्नेछन्।
निर्वाचन कार्यतालिकाअनुसार माघ ४ गते बन्दसूची सार्वजनिक गरिनेछ। प्रत्यक्षतर्फको मतपत्र छपाइ भने माघ ९ गतेपछि सुरु गर्ने तयारी आयोगको छ। प्रत्यक्षतर्फ पनि करिब दुई करोड मतपत्र छापिने र समानुपातिक तथा प्रत्यक्ष दुवै गरी करिब चार करोड मतपत्र छपाइ हुने आयोगले जनाएको छ।






