काठमाडौँ: सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले देशको विकासका लागि राजनीतिक स्थिरता अपरिहार्य भएको बताएका छन्।
स्वाबलम्बन विकास केन्द्रको ३४औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उनले विकास र समृद्धिको लक्ष्यसहित प्रमुख दुई ठूला दल एक भएर सरकार सञ्चालन गरिरहेको उल्लेख गरे। स्थिर सरकारका कारण लगानीमैत्री वातावरण बनेको बताउँदै उनले रोजगारी सिर्जना, आर्थिक समृद्धि र विकासमा योगदान पुर्याउन उद्यमी तथा व्यवसायीलाई सक्रिय हुन आग्रह गरे।
कार्यक्रममा मन्त्री गुरुङले दुई लाख रुपैयाँ राशिको लघु उद्यमशील विकास पुरस्कार छिमेक लघुवित्त विकास संस्थालाई प्रदान गरे। स्वाबलम्बन विकास केन्द्रले यस वर्षका लागि सो पुरस्कार सो संस्थालाई दिने निर्णय गरेको हो।
यस्तै, उनले दुई लाख रुपैयाँ राशिको शङ्करमान श्रेष्ठ लघुवित्त पुरस्कार सफल उद्यमी तथा सांसद योगेन्द्र मण्डललाई हस्तान्तरण गरे। सोही अवसरमा जनही ५० हजार रुपैयाँ राशिको उत्कृष्ट लघु उद्यमी सदस्य पुरस्कार विमला थारु, जमुना घिमिरे र आशा बुढामगरलाई प्रदान गरिएको थियो।







