काठमाडौँ: संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८२ शुक्रबार राजधानीको सैनिक मञ्च, टुँडिखेलमा विविध कार्यक्रमका साथ मनाइएको छ। राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आयोजित मूल समारोह बिहान साढे ८ बजे सुरु भएको हो। कार्यक्रममा अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्नुभयो।
यस वर्ष विशेष राजनीतिक परिस्थितिका कारण झाँकीलगायतका औपचारिक गतिविधि स्थगित गरिएको भए पनि अन्य कार्यक्रमहरू भने सम्पन्न भएका छन्। नेपाली सेनाको टोलीले शान्तिको प्रतीकका रूपमा परेवा उडाएको थियो भने सुरक्षा निकायका विभिन्न समूहहरूले मार्च पास र ब्याण्ड प्रदर्शन गरेका थिए।
यस्तै, संविधान दिवसको अवसरमा माइतीघर मण्डलाबाट सुरु भएको शान्ति ¥याली भद्रकाली, सहिद द्वार, त्रिपुरेश्वर, थापाथली हुँदै पुनः माइतीघरमै पुगेर सभामा परिणत भएको थियो।
संविधान दिवसको मूल समारोहमा राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीहरू, उच्च पदस्थ अधिकारीहरू, कर्मचारी र सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति थियो।







