उनका अनुसार यमपञ्चकका दिनहरूले पारिवारिक, सामाजिक र मानवीय सम्बन्धमा सौहार्द र आत्मीयता कायम गर्न, दिदीबहिनी–दाजुभाइ तथा आफन्तबीच सुमधुर सम्बन्ध विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने गरेका छन्।
खड्काले बागमती सभ्यतालाई नेपालको भाषा, साहित्य, कला र संस्कृतिको उत्थानकालको प्रतीक भन्दै नेपाल संवत् त्यही ऐतिहासिक जागरणकालको जीवन्त धरोहर रहेको बताए। उनका अनुसार यसको प्रारम्भ समाजसेवी शंखधर साख्वाले गरिब र पीडितको ऋणमोचन गरेर गरेका महान कार्यको सम्झनामा गरिएको हो।
उनले तिहारलाई अन्धकारमाथि उज्यालोको विजयको प्रतीकका रूपमा उल्लेख गर्दै नेपाल संवत् नयाँ वर्षले पारस्परिक एकता र सद्भावलाई अझ सुदृढ बनाओस् भन्ने कामना व्यक्त गरे। साथै, उनले सबैमा सुख, शान्ति र समृद्धिको शुभकामना दिए।