रामेछाप । रामेछापको मन्थली नगरपालिका–८, गाईखुरामा अवस्थित नर्बेदश्वर आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकालाई शुक्रबार जाडोको कपडा (ट्र्याकसुट) वितरण गरिएको छ।
चिकित्सक तथा समाजसेवी डा. मुनिर सैयदले उक्त विद्यालयमा अध्ययनरत ५० जना बालबालिकालाई जाडोको ट्र्याकसुट वितरण गरेका हुन्। उनले आफ्नो पेशासँगै सधैं समाजसेवामा पनि सक्रिय रही नेपालका विभिन्न ठाउँका विद्यालयहरूमा शैक्षिक सामग्री सहयोग गर्दै आएका छन्।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष विमला माजीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा डा. सैयदले आगामी दिनमा पनि विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए।
डा. सैयदले यसअघि पनि मन्थली नगरपालिकाको नबुघाट र टेकनपुरका दुई सामुदायिक विद्यालयका बालबालिकालाई ट्र्याकसुट वितरण गरिसकेका छन्।
कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक हिरा बोहोराले डा. सैयदको सहयोगले विद्यालयमा अध्ययनरत आदिवासी माजी समुदायका बालबालिकाको अध्ययनमा सकारात्मक प्रभाव पारेको बताइन्। उनका अनुसार विद्यालयको वरपर माजी समुदायको बाक्लो बस्ती रहेको छ र शिक्षा क्षेत्रमा ती बालबालिका निरन्तर अघि बढिरहेका छन्।
विशेष कुरा के छ भने उक्त विद्यालयमा सबै शिक्षक महिला छन्। कक्षा ४ सम्म मात्र अध्ययन हुने विद्यालयमा शिक्षकदेखि व्यवस्थापन समिति सम्म सबै जिम्मेवारी महिलाले सम्हालेका छन्।
विद्यालयले महिलाको नेतृत्वमा समुदाय र बालबालिकाको सिकाइ सुधारमा उदाहरणीय काम गर्दै गएको स्थानीयवासीहरूले बताएका छन्।







