काठमाडौँ: नेपाल राष्ट्र बैंकले एक सय रुपैयाँ दरको नयाँ बैंक नोट आजदेखि चलनचल्तीमा ल्याएको छ। बिहीबार जारी गरिएको सूचनामार्फत बैंकले नयाँ नोट औपचारिक रूपमा प्रचलनमा आएको जानकारी दिएको हो।
नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ। नोटको मध्य भागमा नेपालको नक्सा, अशोक स्तम्भको चित्र रहने छ। आकार र रङ भने पुरानै नोटजस्तै राखिएको बैंकको भनाइ छ।
बैंकले जारी गरेको सूचनाअनुसार, “नेपाल सरकारको जमानत प्राप्त यो नोट भुक्तानीका लागि पेश गर्दा नेपाल राष्ट्र बैंकबाट एक सय रुपैयाँ तुरुन्त पाइनेछ।”
दृष्टिविहीन व्यक्तिले नोट छामेर पहिचान गर्न सक्नेगरी अशोक स्तम्भको छेउमा एउटा कालो थोप्ला राखिएको छ। बाँयातर्फ अण्डाकार भित्र सिल्भर मेटालिकमा मायादेवीको चित्र पनि समावेश गरिएको छ।
सुरक्षाका लागि नोटमा २ मिमी चौडाइको विशेष सुरक्षा धागो राखिएको छ, जसलाई ठाडो हेर्दा रातो र ढल्काएर हेर्दा हरियो रङ देखिन्छ।
नोटमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको छ भने तल्लो भागको बोर्डरमा नोटको सिरिज नम्बर नेपालीमा ‘वि.सं. २०८१’ लेखिएको छ।






