काठमाडौँ: सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले शिक्षित नेपाल निर्माण र पठन–संस्कृतिको प्रवर्द्धनमा ‘किताब जात्रा’जस्ता गतिविधिको महत्वपूर्ण योगदान रहने बताएका छन्। किताब जात्राको सातौँ संस्करणको बिहीबार उद्घाटन गर्दै मन्त्री खरेलले सबै नागरिकलाई शिक्षाको पहुँच विस्तार गर्न आवश्यक छ भन्दै गुणस्तरीय शिक्षाका लागि सामूहिक प्रतिबद्धता आवश्यक रहेको उल्लेख गरे।
“शिक्षाभन्दा ठूलो शक्ति अरू केही छैन। शिक्षा अन्धकार हटाउने ज्योति हो,” भन्दै उनले विद्यालयबाहिर रहेका बालबालिकालाई शैक्षिक अवसर उपलब्ध गराउन सबै पक्ष गम्भीर बन्नुपर्नेमा जोड दिए।
सरकारका प्रवक्तासमेत रहेका मन्त्री खरेलले निर्धारित समयसीमाभित्र निर्वाचन सम्पन्न गर्ने तयारी तीव्र रूपमा अघि बढेको जानकारी दिए। साथै जेनजी आन्दोलनको भावना अनुसार सुशासन कायम गर्ने र भ्रष्टाचार नियन्त्रणमा सरकार दृढतापूर्वक लागिपरेको स्पष्ट पनि गरे।
“हामी संवेदनशील समयमा सरकारमा सहभागी भएका छौँ। मुलुकलाई परिवर्तनको नयाँ बाटोतर्फ अघि बढाउनुपर्ने जिम्मेवारी सबैको काँधमा छ,” उनले भने, “यो दायित्व पूरा गर्न सबै पक्ष एकजुट हुनुपर्छ।”
किताब जात्राका निर्देशक ऋषिराज अधिकारीका अनुसार पठन–संस्कृतिको विकास तथा नागरिकमा शिक्षाप्रति जागरण बढाउने उद्देश्यले किताब जात्राको निरन्तर आयोजना हुँदै आएको छ। दुई दिने यस कार्यक्रममा पुस्तक प्रदर्शनीसँगै विभिन्न प्राज्ञिक सत्रसमेत सञ्चालन हुने आयोजकले जानकारी दिएको छ।







