काठमाडौँ: अस्पताल तथा स्वास्थ्य संस्थाहरूले स्वास्थ्य बीमा सेवा प्रदान गर्न आनाकानी गरेको र बिरामीलाई आवश्यक सुविधा नदिएको गुनासो बढेपछि स्वास्थ्य बीमा बोर्डले कानुनअनुसार कारबाही गर्ने चेतावनी दिएको छ।
बीमा कार्यक्रमअन्तर्गत सेवा प्रवाहका क्रममा केही सेवा प्रदायक संस्थाले बीमित सेवाग्राहीलाई सास्ती दिएको तथा सेवा दिन अस्वीकार गरेको पाइएपछि बोर्डले सहज र प्रभावकारी रूपमा उपचार सेवा उपलब्ध गराउन आग्रह गरेको हो।
स्वास्थ्य संस्थाहरूले बीमा सेवा लिन अग्रिम समय लिनुपर्ने व्यवस्था लागू गरेको, बीमितप्रति भेदभावपूर्ण व्यवहार गरिएको तथा आवश्यक सेवा, सुविधा र औषधि उपलब्ध नगराएको विषयमा बोर्डको ध्यानाकर्षण भएको जनाएको छ।
स्वास्थ्य बीमा ऐन, २०७४, स्वास्थ्य बीमा नियमावली, २०७५ तथा प्रचलित कानुनविपरीतका गतिविधि नगर्न बोर्डले सचेत गराएको छ। अनुगमनका क्रममा नियम उल्लङ्घन गरेको पुष्टि भएमा ऐनअनुसार कारबाही गरिने कार्यकारी निर्देशक कृष्णप्रसाद पौडेलले जानकारी दिए।







