काठमाडौँ: शनिबार परेको अविरल वर्षापछि विभिन्न स्थानका डाइभर्सन बग्दा बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । शनिबार दिउँसो ४ बजेदेखि बन्द रहेको राजमार्ग तत्काल सञ्चालनमा आउन नसक्ने प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार वर्षासँगै आएको बाढीले राजमार्गका विभिन्न खण्डमा बनाइएका अस्थायी डाइभर्सन बगाएपछि यातायात सञ्चालन ठप्प भएको हो । उनका अनुसार आइतबार साँझसम्म पनि सडक खुलाउन कठिन हुने अवस्था रहेको छ ।
प्रहरीका अनुसार रोशी खोलामा आएको बाढीले चौकीडाँडा, घुमाउने, चारसय बेँसी, गिम्दी बेँसी, नार्के, चिउरीबास, बोक्सीकुना, कालढुंगा, डालाबेशी, ठुलोढुंगा र माम्ती क्षेत्रमा रहेका डाइभर्सन बगाएको छ । त्यसैगरी नेपालथोक र सिन्धुलीतर्फको आँपघारी क्षेत्रमा पनि डाइभर्सनमा क्षति पुगेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी कोमल शाहका अनुसार डाइभर्सन बगिएपछि काभ्रेको मङ्गलटार, भकुण्डे, काभ्रेभञ्ज्याङ र धुलिखेल तथा सिन्धुलीको नेपालथोक र खुर्कोट क्षेत्रमा सयौँ सवारी साधन रोकिएका थिए ।
प्रहरीले आइतबार बिहानदेखि भकुण्डे, काभ्रेभञ्ज्याङ र धुलिखेलमा रोकिएका सवारी साधनलाई सुरक्षित स्थानतर्फ पठाएको जनाएको छ । मंगलटार क्षेत्रमा रोकिएका यात्रुहरूलाई पनि वैकल्पिक मार्ग प्रयोग गरी गन्तव्यतर्फ पठाउने काम भइरहेको छ ।
मंगलटारसम्म पुगेका सवारी साधन त्यहीँ रोकेर यात्रुहरूलाई रोशी खोला पार गराई पैदल हिँडाइएको छ । त्यसपछि अर्को सवारी साधनमार्फत तेमालको कालधार–नारायणस्थान–भकुण्डे हुँदै धुलिखेल पठाउने व्यवस्था गरिएको प्रहरीले जनाएको छ ।
मौसममा सुधार आएर सडक सुरक्षित भएको पुष्टि भएपछि मात्र पुनः सवारी सञ्चालन गरिने प्रहरीले जनाएको छ । सडकको अवस्थाबारे जानकारी लिन नेपाल प्रहरीको १०० तथा ट्राफिक प्रहरीको १०३ नम्बरमा सम्पर्क गर्न आग्रह गरिएको छ ।






