काठमाडौँ: राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा सार्वजनिक गरेको छ। परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीमा सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत नतिजा सार्वजनिक गरिएको हो।
यस वर्षको एसईईमा कुल ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। बोर्डका अनुसार नियमिततर्फ दुई लाख ८४ हजार १६० विद्यार्थी उत्तीर्ण भएका छन् भने एक लाख ४६ हजार ५०७ विद्यार्थी नन-ग्रेडेड भएका छन्।
यस वर्ष परीक्षामा पाँच लाख १२ हजार ४२१ विद्यार्थी सहभागी भएका थिए। सहभागीमध्ये दुई लाख ५७ हजार ६१३ छात्रा, दुई लाख ५४ हजार ८०१ छात्र र सात जना अन्य रहेको बोर्डले जनाएको छ। नियमिततर्फ चार लाख ४१ हजार ५६६ तथा ग्रेडवृद्धितर्फ ७० हजार ८५५ विद्यार्थीले परीक्षा फाराम भरेका थिए।
गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन गरिएको परीक्षाको उत्तरपुस्तिका यसपटक परीक्षा केन्द्रमै परीक्षण गरिएकाले नतिजा छिट्टै सार्वजनिक गर्न सम्भव भएको बोर्डले जनाएको छ।
नन-ग्रेडेड विद्यार्थीका लागि आउँदो असार १ गतेदेखि ग्रेडवृद्धि (मौका) परीक्षा सञ्चालन हुने भएको छ। सबै नन-ग्रेडेड विद्यार्थीलाई परीक्षामा सहभागी हुने अवसर दिइने बोर्डले स्पष्ट पारेको छ।
बोर्डका परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार कक्षा ११ को भर्ना प्रक्रिया पनि छिट्टै सुरु गरिनेछ। शिक्षा मन्त्रालयले सरोकारवाला निकायसँग छलफल गरी भर्ना तथा पठनपाठनको मिति तय गर्ने जनाएको छ।







