काठमाडौँ: शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी असार १ गतेदेखि कक्षा ११ को पठनपाठन सुरु गर्ने निर्णय गरेको छ।
माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा एक महिनाभित्र प्रकाशित भएपछि मन्त्रालयले कक्षा ११ को पठनपाठन असार १ गतेबाट सुरु गर्ने निर्णय गरेको हो।
सो निर्णयअनुसार सूचना प्रवाह गर्न सबै विद्यालय तथा स्थानीय तहहरूलाई पत्राचार गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई मन्त्रालयले निर्देशन दिएको छ।
यसअघि एसइई नतिजा कहिले प्रकाशित हुने र कक्षा ११ को पठनपाठन कहिलेदेखि सुरु हुने भन्ने विषयमा अन्योलता रहेको थियो। विद्यार्थी तथा अभिभावकको अन्योलता अन्त्य गर्दै शैक्षिक सुशासन कायम गर्न र पठनपाठनलाई प्रभावकारी बनाउन मन्त्रालयले यस्तो निर्णय गरेको जनाएको छ।
मन्त्रालयका अनुसार कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्दा विद्यालय शिक्षाको गुणस्तर वृद्धि हुने र सबै विद्यालय तहका कक्षाको पठनपाठनमा एकरूपता कायम हुने अपेक्षा गरिएको छ।






