रामेछाप; लिखु तामाकोसी गाउँपालिका–२ का वडा अध्यक्ष सन्तोष पौडेलसहित जनप्रतिनिधिहरूमाथि स्वेतगंगा हाइड्रोपावरका प्रतिनिधिहरूले दुर्व्यवहार गर्दै बन्धक बनाएको आरोप सार्वजनिक भएको छ। घटनापछि आयोजना प्रमुख सजन श्रेष्ठ र कर्मचारी रुचि श्रेष्ठ सम्पर्कविहीन रहेको स्थानिय बताउछन्।
वडा अध्यक्ष पौडेलका अनुसार घटना प्रहरी चौकीकै रोहबरमा भएको थियो। हाइड्रोपक्षले अन्य कारण देखाए पनि कार्यक्रममा सहभागी पत्रकारहरूले भिडियो तथा फोटो खिचेका कारण आफूहरूलाई रोकिएको र अपमानजनक व्यवहार गरिएको उनको दाबी छ।
हामीमाथि दुर्व्यवहार हुँदा पनि प्रहरी मौन दर्शक बनेर बस्यो, अध्यक्ष पौडेलले भने, “घटनामा हाइड्रो कम्पनी र प्रहरीबीच मिलेमतो भएको आशंका छ।”
घटनापछि गाउँपालिकाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। गाउँपालिका अध्यक्ष केशव महतका अनुसार घटनामा संलग्न भनिएका आयोजना प्रमुख सजन श्रेष्ठ र कर्मचारी रुचि श्रेष्ठसँग सम्पर्क गर्ने प्रयास गरिए पनि उनीहरू सम्पर्कमा आएका छैनन्।
यसैबीच, दोभानचौर खबरले पनि आयोजना प्रमुख श्रेष्ठसँग सम्पर्क गर्न खोजेको थियो। तर उनको मोबाइल फोन उठेन भने घटनाबारे प्रतिक्रिया प्राप्त हुन सकेन।
गाउँपालिकाले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ। जनप्रतिनिधिमाथि भएको भनिएको दुर्व्यवहारले स्थानीय तहको अधिकार र सम्मानमाथि चुनौती सिर्जना गरेको भन्दै गाउँपालिकाले यस्ता गतिविधि दोहोरिन नदिन कडा कदम चाल्नुपर्ने जनाएको छ।






