काठमाडौँ। निजामती कर्मचारी अस्पतालले निजामती कर्मचारी तथा उनीहरूका परिवारलाई लक्षित गर्दै प्रत्येक आइतबार विशेष ओपिडी सेवा सञ्चालन गर्ने भएको छ ।
अस्पतालका अनुसार आइतबार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म सञ्चालन हुने विशेष ओपिडीमा इन्टरनल मेडिसिन, फेमिली मेडिसिन, स्त्री तथा प्रसूति रोग, छाला रोग, नाक–कान–घाँटी ९ईएनटी०, रेडियोलोजी र प्याथोलोजीलगायतका सेवा उपलब्ध हुनेछन् ।
अस्पतालकी सूचना अधिकारी श्रीरञ्जना नेपालले आगामी दिनमा विशेष ओपिडीअन्तर्गत थप विशिष्टीकृत स्वास्थ्य सेवा पनि विस्तार गरिने जानकारी दिइन् ।
उनका अनुसार निजामती कर्मचारी तथा परिवारका सदस्यले अस्पतालमा उपचारका लागि लामो समय लाइन बस्नुपर्ने अवस्था अन्त्य गर्दै सहज र छरितो रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले विशेष ओपिडी सञ्चालन गर्न लागिएको हो ।
अस्पतालले विशेष ओपिडी सेवाबाट लक्षित सेवाग्राहीलाई नियमित स्वास्थ्य परीक्षण तथा उपचारमा थप सहजता हुने अपेक्षा गरेको छ ।






