काठमांडाै । रेष्टुरेन्टलगायतका व्यवसाय गर्न बतास समूहलाई दिने निर्णय प्रक्रिया बारे छानबिन समिति गठन भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयद्वारा सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो ।
नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रेष्टुरेन्ट लगायतका व्यवसाय गर्न बतास समूहलाई ठेक्कामा दिईएको र व्यावसाय सञ्चालनका लागी संरचना निर्माण भईरहेका खबर बाहिर आयपछि यो विषयमा जनस्तरबाट चर्को आलोचना भएको थियो । आलोचनापछी मन्त्री प्रेमबहादुर आलेको यही पुस २० गते को निर्देशनमा रोकिएको थियो ।
मन्त्री आलेले नारायणहिटी सङ्ग्रहालय परिसरमा निर्माण भइरहेको रेस्टुरेन्टको काम रोक्न नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालक विकास समितिलाई निर्देशन दिनुभएको थियो ।
मन्त्री आलेको निर्देशनपछि नारायणहिटी दरबार समितिले बी म्यानेजमेन्ट प्रालिलाई पत्र लेखेर अर्को आदेश नभएसम्मका लागि काम रोक्न निर्देशन दिइसकेको छ ।
आज गठिन समितिमा कर्मचारी प्रशासन शाखाका उपसचिव टेकनारायण पौडेल, आर्थिक व्यवस्थापन महाशाखाका लेखा नियन्त्रक सूर्यमणि गौतम, सदस्यमा कानुन शाखाका उपसचिव पुरुषोत्तम खतिवडा तथा समितिको सदस्यसचिवमा शाखा अधिकृत टङ्कबहादुर नेगी रहेका छन् ।
समितिलाई दरबार सङ्ग्रहालय भित्र निर्माण गर्न लागिएको रेष्टुरेन्टका बारेमा तीन दिनभित्र छानबिन गरी प्रतिवेदन पेश गर्न समितिलाई निर्देशन मन्त्री आलेले दिएका हुन् ।