दोलखाको गौरीशङ्कर गाउँपालिकाका उपाध्यक्ष श्यामसुन्दर तामाङको आइतबार निधन भएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि दुई दिनअघि गङ्गालाल हृदय रोग केन्द्र बाँसबारीमा भर्ना भएका उपाध्यक्ष तामाङको निधन भएको पारिवारिक स्रोतले जानकारी दिए ।
गौरीशङ्कर गाउँपालिका–६ चङ्खु तामाङ कामको सिलसिलामा काठमाडौँ पुगेका बेला एक्कासि पेट दुख्ने र पखाला लाग्ने समस्या भएपछि भक्तपुरको मध्यपुर थिमि अस्पतालमा भर्ना भएको पारिवारिक स्रोतले जानकारी दिए ।
त्यहाँ उपचार सम्भव नभएपछि उनलाई मुटुमा समस्या देखिएको आशङ्कामा मध्यपुर थिमि अस्पतालले गङ्गालालमा रिफर गरेको थियो । तामाङलाई हिजोबाटै आइसिसियु कक्षमा राखेर उपचार गरिएकोमा स्वास्थ्यमा जटिल समस्या देखिएपछि आज दिउँसो शल्यक्रिया गरिएको पारिवारिक स्रोतले जनाएको छ ।
तामाङको निधनको खबरपछि गौरीशङ्कर गाउँपालिकाका जनप्रतिनिधि र स्थानीयवासी तथा दोलखाका राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू गङ्गालाल हृदय रोग केन्द्र बाँसबारीमा पुगेका छन् ।
तामाङ गत वर्ष भएको स्थानीय तहको निर्वाचनमा गौरीशङ्कर गाउँपालिकाको उपाध्यक्ष पदमा निर्वाचित भएका थिए । नेपाली काँग्रेसको राजनीतिमा लामो समयदेखि सक्रिय तामाङ काँग्रेस र माओवादीको गठबन्धनबाट विजयी भएका थिए । उनी २०७९ साल वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट निर्वाचित भएका थिए ।