काठमाडौं । नेपालले शनिबार बंगलादेशसँग २–० को हारसँगै घरेलु मैदानमा सुरु साफ यु–१६ महिला च्याम्पियनसिपको सुरुवात गरेको छ।
राष्ट्रको प्रतिस्पर्धा रहेको साफ यु–१६ नेपालमा शुक्रबारदेखि सुरु भएको हो। उक्त प्रतियोगिताको दोस्रो खेलमा नेपाल शनिबार बंगलादेशसँग सहज हार स्विकार्न बाध्य भएको हो।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बंगलादेशकी सौरबी प्रीतिले दुई गोल गरिन्। बंगलादेशले पहिलो हाफमा नै दुई गोल गर्दै घरेलु टोलीलाई दबाबमा राख्यो। तर दोस्रो हाफमा भने दुवै तर्फबाट गोल हुन सकेन।
खेलको २४ औं मिनेटमा प्रीतिले गोल गर्दै अग्रता दिलाइन्। पेनाल्टी बक्समा प्राप्त बललाई उनले नेपालका दुई डिफेन्डरलाई छक्याउँदै गोल गरेका हुन्।
त्यसको पाँच मिनेटपछि नै बंगलादेशले पेनाल्टीमार्फत अर्को गोल थप्यो। नेपालकी गोलकिपर झर्ना दुम्राकोटीलाई अल्पी अक्तरलाई लडाएपछि बंगलादेशले पेनाल्टी पायो।
सो अवसर सदुपयोग गर्दै प्रीतिले बंगलादेशको अग्रता दोब्बर बनाइन्। त्यसपछि पहिलो हाफमा थप गोल हुन सकेन र घरेलु टोली २–० ले पछाडि पर्यो।
दोस्रो हाफमा दुवै तर्फबाट प्रयास भएपनि गोल हुन सकेन र नेपालले हारबाट च्याम्पियनसिपको सुरुवात गर्यो। जितसँगै बंगलादेशले पहिलो खेलबाट तीन अंक जोड्यो । समान खेलबाट भारतको पनि तीन अंक नै छ।
भारतले पहिलो खेलमा भुटानमाथि ७–० को रबाफिलो जित निकालेको थियो।