हेटौंडा/ फियान नेपालले चेपाङ महिला खाद्य अधिकार प्रभावित समुहको पैरवी कार्ययोजना तर्जुमा तथा सवाल हस्तान्तरण कार्यक्रम आयोजना गरिएको छ । शनिबार बाँच्न पाउने अधिकारको आधार: खाद्य अधिकार भन्ने उद्देश्यले राक्सिराङ गाउँपालिकालाई कार्यक्रम हस्तान्तरण गरिएको हो ।
फियान नेपाल बागमती प्रदेशकी संयोजक लक्ष्मी गुरुङले उक्त कार्यक्रमको अवधि सकिएको जानकारी दिँदै पालिकालाई कार्यक्रम हस्तान्तरण गरिएको बताइन् । आगामी वर्ष महिलाको आवश्यकतालाई मध्यनजर गर्दै संस्थाले पुन: कार्यक्रम ल्याउने र नल्याउने भन्ने विषयको निर्णय गरिने जानकारी दिइन् । राक्सिराङ गाउँपालिकाका सचिव इन्द्रबहादुर जिरेलले चेपाङ महिलाको जीविकोपार्जनका लागि फियानले उठाएका सवालमाथि ध्यानाकर्षण भएको जानकारी दिए । महिलालाई आत्मनिर्भर बनाउन पालिका सकारात्मक रहेको बताए ।
सोही अवसरमा फियानले सवालगत कार्यको समिक्षा समेत गरिएको छ । जसमा चेपाङ महिलाहरुले बस्ती बचाउ, रोजगारमुलक तालिमको व्यवस्था, सामुदायिक भवनको निर्माण, उत्पादन गरिएको सामग्रीको बजारीकरण लगायतका कुरा हुनुपर्ने माग राखेका छन् । कार्यक्रममा कृषि प्राविधिक कृष्ण दुम्रे, राक्सिराङ-५, का वडासदस्य विराजमान प्रजा लगायतको उपस्थिति रहेको थियोे ।