रामेछाप । गत ८ गतेको अविरल वर्षाको कारण मन्थली नगरपालिका-१३ मिल्ती बजारका नागरिकहरू पिँडामा छन् । पिँडामा रहेका पीडितलाई केही राहत होस भनी मन्थली नगरपालिकाका नगर प्रमुख लब श्रेष्ठ बुधवार राहत लिएर घटनास्थलमा पुगेका छन् । उनले अहिलेलाई नागरिकको अत्यावश्यक सामानहरू- चामल, दाल, तेल लगायत भान्साको सामल सहित पकाउने भाँडाकुँडा दिए।
अहिले ३ घरमा क्षति पुर्याएको छ, हामीले ३ घरलाई मात्र सामान्य राहत दिएका छौ। बस्ती पुरै जोखिममा छ । अब हामी चाँडै वैकल्पिक बस्ती खोज्ने छौँ । नगरपालिका भरी नागरिकको सुरक्षाको लागि हामीले जोखिम बस्ती पहिचान गर्दैछौं भने पहिलो चरणमा नागरिकको सुरक्षामा लाग्ने, त्यसपछि कुलेसो, करेसाबारी हुँदै खेतबारी जोगाउन लाग्ने छौँ – नगर प्रमुख श्रेष्ठले भने ।
अप्ठ्यारो परेको बेला सामल लिएर स्थानीय सरकार आउँदा सरकार भएको महसुस गरेको पीडित युवराज खत्रीले बताए। खत्रीले स्थानीय सरकारका प्रमुख नै राहत लिएर पुगेपछि खुसी हुँदै आफ्ना पीडा खुलस्तसँग राखेका थिए ।
बजारमा बाढीले केही क्षति पुर्याएको र बस्ती पुर्णरुपमा जोखिम रहेको मन्थली नगरपालिका ३ का वडा अध्यक्ष तथा बिपद व्यवस्थापन समितिका संयोजक कृष्ण गोपाल थापाले बताए ।
गत ८ गतेको अविरल वर्षाको कारण मिल्ती खोलामा आएको बाढीले मिल्ती बजारका ३ वटा टहरा बगाएको थियो । उक्त बजारमा मन्थली नगरपालिका १३ र १४ का नागरिकले व्यावसायिक गर्दै आएका थिए । राहत वितरणमा मन्थली १ का वडा अध्यक्ष होम पौडेल पनि पुगेका थिए ।