काठमाडौँ: नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टीको १५औँ महाधिवेशन तत्काल गर्ने उचित समय नभएको बताएका छन्। नेपाल महिला संघले बिहीबार काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान प्राथमिकता प्रतिनिधिसभा निर्वाचन भएकाले त्यसपछि मात्र महाधिवेशन गर्नुपर्ने आग्रह गरे।
उनले आगामी वैशाखमै पार्टीको नियमित महाधिवेशन निर्धारित भएकाले त्यहीअनुसार तयारीमा लाग्नुपर्नेमा जोड दिए।
निधिले भने, “अहिले हामी सबै प्रतिनिधिसभा निर्वाचनलाई नै प्राथमिकता दिऔँ। निर्वाचन सम्पन्न भएपछि वैशाखमा १५औँ महाधिवेशन गरौँ र त्यसका लागि आवश्यक तयारी सुरु गरौँ।”
हालै कांग्रेसभित्र महाधिवेशनको कार्यतालिका विषयक विवाद चर्किँदै गएको छ। सहमति नजुट्दा केन्द्रीय समिति बैठकले पनि निष्कर्ष निकाल्न सकेको छैन।







