काठमाडौँ: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रङहरूको उत्सवका रूपमा मनाइने फागुपूर्णिमा ९होली०ले नेपाली समाजको जातीय, भाषिक र सांस्कृतिक विविधतालाई उजागर गर्नुका साथै राष्ट्रिय एकताको सन्देश प्रवाह गर्ने बताएका छन्।
होली पर्वको अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै सभापति थापाले नेपाली समाजमा मनाइने विविध सांस्कृतिक तथा ऐतिहासिक महत्वका चाडपर्वहरूमध्ये फागुपूर्णिमा आपसी प्रेम, सद्भाव र एकताको विशिष्ट पर्वका रूपमा रहेको उल्लेख गरे।
उनले नेपालका हिमाल, पहाड र तराईमा बसोबास गर्ने विभिन्न जातजाति, भाषा, धर्म, चाडपर्व, कला, संस्कृति, परम्परा र रीतिरिवाजको विविधताले नै नेपालको सुन्दर र विशिष्ट पहिचान निर्माण गरेको बताए। हिमाली तथा पहाडी क्षेत्रमा फागुन १८ गते र तराई क्षेत्रमा फागुन १९ गते एक–अर्कालाई रङ लगाई खुसी साटासाट गर्दै यो पर्व अत्यन्त उत्साहका साथ मनाइने उनको भनाइ छ।
सभापति थापाले विविध रङहरूजस्तै नेपाली समाज पनि विविधतापूर्ण रहेको र यही विविधताबीचको एकताले नेपालीको पहिचानलाई अझ सशक्त बनाएको उल्लेख गरे। असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको सन्देश दिने यो पर्वले पारिवारिक स्नेह, आपसी मेलमिलाप, सहिष्णुता र सामाजिक सद्भावलाई थप सुदृढ बनाउने उनले बताए।
“यसपटक फागुपूर्णिमासँगै हामी प्रतिनिधिसभा सदस्य निर्वाचनजस्तो लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण उत्सवको सम्मुखमा छौँ। निर्वाचन सफल, शान्तिपूर्ण र मर्यादित रूपमा सम्पन्न हुनेछ भन्ने विश्वास लिएको छु। लोकतन्त्रलाई संस्थागत गर्दै समुन्नत राष्ट्र निर्माणका लागि फागुन २१ गतेको निर्वाचनमा उत्साहपूर्वक सहभागी भई आफ्नो मत प्रयोग गर्न सम्पूर्ण नेपालीमा अपिल गर्दछु,” उनले भने।
वसन्त ऋतुको आगमनसँगै मेलमिलाप र सद्भावनाको सन्देश बोकेको फागुपूर्णिमा (होली) ले सबैको घर–परिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै पारस्परिक एकता र सामाजिक सद्भाव अभिवृद्धि गर्न प्रेरणा प्रदान गरोस् भनी सभापति थापाले शुभकामना व्यक्त गरेका छन्।







