रामेछाप। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, रामेछाप जिल्ला कार्यसमितिले मन्थलीमा आफ्नो कार्यालय स्थापना गरेको छ। कलाकारहरूको संस्थागत गतिविधिलाई व्यवस्थित र प्रभावकारी बनाउन नेपाली कांग्रेसका उपसभापति लेखबहादुर कार्कीले प्रतिष्ठानलाई दुई वर्षका लागि निःशुल्क कार्यालय सञ्चालन गर्न कोठा उपलब्ध गराउने घोषणा गरेका हुन्।
प्रथम जिल्ला अधिबेशनको कार्यक्रमको अवसरमा उपसभापति कार्कीले कलाकारहरूलाई काम गर्न सहज वातावरण आवश्यक रहेको भन्दै आफूले सक्दो सहयोग गरेको बताए।
उनले भने, “कलाकारहरूले गाउँको माटो बोल्ने गीतमार्फत हाम्रो संस्कार, संस्कृति र पहिचानलाई जोगाइरहेका छन्। कार्यालयको अभाव रहेपछि मैले पनि केही सहयोग गर्नुपर्छ भन्ने महसुस गरेर दुई वर्षका लागि निःशुल्क कोठा उपलब्ध गराएको हुँ।”
प्रतिष्ठानका केन्द्रीय सल्लाहकार रमेश बाबु श्रेष्ठले कलाकारहरूको आफ्नै संघर्ष र पीडा रहेको उल्लेख गर्दै प्रतिष्ठानलाई स्थानीय सरकार, नागरिक तथा विभिन्न संघसंस्थाले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताए। उनले स्थानीय संस्कृति र मौलिक गीत–संगीतलाई राष्ट्रिय स्तरसम्म पुर्याउन प्रतिष्ठानको भूमिका महत्वपूर्ण हुने धारणा राखे।
प्रतिष्ठानकी जिल्ला अध्यक्ष कल्पना सुनुवारले आफ्नै कार्यालय स्थापना हुनु प्रतिष्ठानका लागि ऐतिहासिक उपलब्धि भएको बताइन्। उनले अब प्रतिष्ठानले मनोरञ्जनमा मात्र सीमित नभई स्थानीय भाषा, कला, संस्कृतिको संरक्षण र प्रवर्द्धनमा थप सक्रिय भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
मन्थलीमा कार्यालय स्थापना भएसँगै प्रतिष्ठानका नियमित गतिविधि सञ्चालन, कलाकारबीच समन्वय र जिल्लाको मौलिक लोकसंस्कृतिको संरक्षणमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ।






