काठमाडौं । धादिङमा सत्तारुढ तीन दलहरू गठबन्धनका लागी सहमति नजिक पुगेका छन् । आइतबार जिल्ला सदरमुकाम धादिङबेसीमा बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरूको बैठकले जिल्लामा रहेको १३ स्थानीय तहको प्रमुख पदको भागबण्डा गरेका हुन् ।
बैठकमा सहभागी एकीकृत समाजवादीका सचिव सुवास खतिवडाले कांग्रेसले ७, माओवादी केन्द्रले ३ र एकीकृत समाजवादीले ३ स्थानीय तहको नेतृत्व लिनेबारे सहमति बनेको जानकारी दिए । उनका अनुसार संख्यामा सहमति भए पनि कुन स्थानीय तह कसले लिने भन्नेबारे सहमति भइसकेको छैन ।
बैठकमा जनता समाजवादी पार्टीका नेताहरूलाई खबर नगरिएको जसपाका केन्द्रीय सदस्य राजु नेपालले जानकारी दिए । आइतबार नै जसपा र नेकपा एमालेका नेताहरूबीच स्थानीय तहमा सम्भावित तालमेलबारे प्रारम्भित छलफल सुरु गरेको छ ।
त्यस्तै एमाले, जसपा र राप्रपाबीच पनि तालमेलका लागि छलफल सुरु हुन लागेको जसपाका एक नेताले बताए ।