शर्मिला विशुन्के, मंसिर ११,२०८० रामेछाप ।
रामेछापको मन्थलीमा आगामी पुस २६ गतेदेखि १० दिने वृहत् रामेछाप महोत्सव हुने भएको छ । जिल्ला भरिको पर्यटन प्रवर्द्धनमा विशेष टेवा पुर्याउने उद्देश्यले गर्न लागिएको महोत्सवको तयारी तीव्र रूपमा अगाडि बढाइएको आयोजकले जनाएको हो । गत बिहीबार बसेको रामेछाप उद्योग वाणिज्य संघ, रामेछापको नियमित बोर्ड बैठकले वृहत् रामेछाप महोत्सव गर्ने मिति तोकेर तयारी अगाडि बढाउने निर्णय गरेको उद्योग वाणिज्य संघका महासचिव कुमार श्रेष्ठले जानकारी दिनुभयो । अहिले मिति तोकिएको र थप कसरी जाने भनेर बैठक बसेर समितिहरू गठन गरेर काम अगाडि बढ्ने उहाँले बताउनुभयो ।
गत वर्ष सडक महोत्सव गरेर चर्चा कमाएको रामेछाप उद्योग वाणिज्य संघले यो वर्ष वृहत् रामेछाप महोत्सव गर्ने योजना अगाडि बढाएको हो । विगतमा १२५ वटा स्टलहरू राखिएको अनुभव भएकाले त्यो भन्दा बढाएर स्टलहरु राखिने उहाँले बताउनुभयो । मूल समारोह समिति गठन गरेपछि कलाकार, प्रमुख अतिथि, लागत, व्यवस्थापन, स्टल सहित सबैको तयारी अगाडि बढ्ने महासचिव श्रेष्ठले बताउनुभयो ।