काठमाडौँ । नेपाली कांग्रेसमा केन्द्रीय समितिको निर्णय विपरीत सत्ता गठबन्धन दलसँग चुनावी तालमेलको प्रति पार्टी भित्र असन्तुष्टि बढेको छ । सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन दलसँग चुनावी तालमेल गर्न थालेपछि पार्टी भित्र असन्तुष्टि भएका हुन् ।
गत चैतको दोस्रो साता बसेको कांग्रेस केन्द्रीय समितिको निर्णय स्थानीय अवस्था र आवश्यकताका आधारमा तालमेल गर्न सक्ने गरेको थियो । महानगरपालिका र उपमहानगरपालिकामा पनि केन्द्रबाटै चुनावी तालमेल गर्ने प्रयास हुन थालेपछि नेता शेखर कोइराला समूहका नेताहरूले असन्तुष्टि जनाएका छन् ।
सभापति देउवाले कोइराला समूहबाट निर्वाचित महामन्त्री थापालाई गठबन्धनका बैठकमा बोलाउने गरेका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल संयोजकत्वको कार्यदलमा समेत सदस्य छन् । तर सोमबार दिनभरीका कुनैपनि बैठकमा र गठबन्धनको संयुक्त बैठकमा महामन्त्री गगनकुमार थापा गएनन् ।
उनले सोमबार बिहान काठमाडौं क्षेत्र नं. ४ को प्रशिक्षण कार्यक्रममा महामन्त्री थापाले स्थानीय कार्यकर्ताको भावना विपरीत केन्द्रले जबरजस्ती लाँदेको निर्णयले सकारात्मक नतिजा नआउने बताएका थिए । देशै भरिका साथीहरुले तालमेल गर्नुहुँदैन भन्ने मत राखिरहनुभएको, बरु हार्नु परे हारौँला तर रुख बाहेकमा भोट हाल्दैनौँ भनेर फोन आउँछ,’ उनले कार्यक्रममा बोल्दै भनेका थिए ।
सत्ता गठबन्धनमा छ महानगर र ११ उपमहानगरमा सिट भागबण्डाको प्रयास भइरहेको तर सबैजसो ठाउँबाट कांग्रेसका नेता कार्यकर्ताले तालमेल गर्न नसकिने भनिरहेका छन् । हालसम्म विराटनगर, वीरगन्ज र काठमाडौं महानगरपालिकाले चुनावी तालमेल नै आवश्यक नभएको निर्णय गरेका छन् भने भरतपुर, ललितपुर र पोखरा महानगरपालिकाले पनि कांग्रेसले मेयर नपाए गठबन्धन गर्न नसकिने अडान राखेका छन् ।