तनहुँ : अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीको मुद्दामा नाबालिकाको बुवालेसमेत अदालतमा बयान फेरेका छन् । मंगलबार जिल्ला अदालत तनहुँमा बकपत्र दिने क्रममा उनले छोरीको कुरालाई आधार मानेर जाहेरी दिएको बताएको जिल्ला अदालत तनहुँका मिन बहादुर कुँवरले जानकारी दिए।
जाहेरीवालाको बकपत्र होस्टाइल भएको र पहिला जाहेरीमा जे उल्लेख थियो, ठ्याक्कै विपरीत बयान दिएको श्रेष्तेदार कुँवरले बताएका छन् । त्यस्तै बुवाले जाहेरीमा गरेको हस्ताक्षर भने आफ्नै भएको स्वीकार गरेका छन् ।
उनका अनुसार मंगलबार नै दुर्गेश थापाले पनि बकपत्र दिएका छन् । दुर्गेशले पनि दुई जनाको बिषयमा आफुलाई थाहा छैन र आफुले सबै कुरा सुनेको मात्र भन्ने बकपत्र गरेका छन् ।
मंगलबार उपस्थित नभएका सरकारी पक्षकाहरुलाई झिकाउन पेसी तोकिएको उनले बताए । आइतबार नाबालिकाले पनि बकपत्र दिने क्रममा जाहेरीमा उल्लेखित विवरणहरुमा सत्यता नभएको बताएकी थिइन्।