हेटौंडा /मकवानपुरको भीमफेदी गाउँपालिकाले शैक्षिक प्रशासनको नेतृत्व गर्ने प्रधानाध्यापकहरुसँग शैक्षिक अवस्थाबारे छलफल तथा विमर्श गर्दै विद्यालयको शैक्षिक कार्यप्रणाली, विद्यालय व्यवस्थापन, सुशासन र प्रशासन सुदृढ, नियमित, व्यवस्थित, गुणात्मक, प्रभावकारी, सक्षम तथा नतिजामुखी बनाउने र शैक्षिक गुणस्तर सुनिश्चित गर्ने उद्धेश्यले शैक्षिक सत्र २०८१ प्रारम्भ हुनुअगावै सम्झौता गरेको छ । शिक्षा अधिकृत चक्र साउदले पालिकाअन्तर्गत् ४९ विद्यालयका प्रधानाध्यापकहरुसँग ४५ बुँदे कार्यसम्पादन करार सम्झौता गरेका हुन् । नयाँ शैक्षिक सत्र प्रारम्भ हुनुअगावै विद्यालयसँग सम्झौता गर्दा विद्यालय प्रशासन, व्यवस्थापन, शिक्षक, अभिभावकलाई आफ्नो काम र कर्तव्यप्रति जवाफदेही हुन र अपनत्वभाव सिर्जनामा सघाउ पुग्ने विश्वास छ । शैक्षिक गुणस्तर सुनिश्चितताका लागि पालिकाअन्तर्गत् सबै प्रधानाध्यापकले हर तवरले प्रयास गर्ने बताएका छन् ।
कार्यसम्पादन मूल्यांकन वार्षिकरुपमा कुल १ सय अंकभारको हुनेछ । चालु शैक्षिक सत्रभित्र सम्झौतापत्रमा उल्लेखित कार्य सम्पन्न गरेको विषय मूल्यांकनको आधार बनाइ कुल अंकभार १ सय मा सबभन्दा उच्च अंक प्राप्त गर्ने विद्यालय र प्रधानाध्यापकलाई उच्च सम्मानसाथ पुरस्कृत गरिने, सर्वोकृष्ट अंक प्राप्त गर्न सफल विद्यालयलाई ‘स्कुल अफ दी इयर’ र प्रधानाध्यापकलाई ‘वेष्ट प्रिन्सिपल अफ दी इयर’ घोषणा गरिने छ । कार्यसम्पादन मूल्यांकनमा प्रतिशत् भन्दा कम अंक प्राप्त ४० गर्ने विद्यालयलाई उपचारात्मक प्राविधिक सहायता प्रदान गरिने तथा सुधारको अवसर दिने तर लगातार २ शैक्षिक सत्रसम्म ४० प्रतिशत् कटाउन नसकेको अवस्थामा प्रधानाध्यापकको म्याद रद्धका लागि शिक्षा अधिकृतमार्फत् गाउँ शिक्षा समितिको बैठकमा प्रस्ताव पेश गरिने छ । गाउँ शिक्षा समितिको सिफारिसमा गाउँ कार्यपालिकाको निर्णयअनुसार नियुक्ति थप वा रद्ध गर्नसक्ने विषय उल्लेख छ ।
कार्यसम्पादन मूल्यांकनमा ८० प्रतिशत्भन्दा माथि अंक प्राप्त गर्ने प्रत्येक विद्यालय र प्रधानाध्यापकलाई पुरस्कृत तथा सम्मान गरिने र सर्वोकृष्ट विषयगत् औसत हासिल गराउने विषयगत् शिक्षकलाई ‘वेष्ट टिचर अफदी इयर’ घोषणा गरी सम्मान/पुरस्कृत गर्ने र कक्षा-८ र १० मा सबभन्दा बढी अंक प्राप्त गर्न सफल विद्यार्थीलाई ‘स्टुडेन्ट अफ दी इयर’ घोषणा गरी पुरस्कार दिइनेछ ।
पालिकाले नयाँ शैक्षिक पात्रो तयार गरिसकेको छ र शैक्षिक कार्ययोजना निर्माणको क्रममा छ । नवीनतम् ज्ञान, विज्ञान, सूचना र प्रविधिको प्रयोग भइरहेको अवस्थामा समाजसापेक्ष परिवर्तन अँगाल्दै स्थानीय तहदेखि परिवर्तित विश्वव्यापीकरणको बजारलाई आवश्यक पर्ने योग्य, स्वस्थ्य, दक्ष, उद्यमशील, प्राविधिक, सिपयुक्त, ऊर्जाशील, सक्षम, नैतिकवान् तथा उत्पादनशील मानवपूँजी निर्माणको आधारशीला तयार गर्न तथा विद्यालय शिक्षालाई वैज्ञानिक, प्राविधिक, सिपमूलक, समयसापेक्ष, जीवनोपयोगी, स्वरोजगारमूलक तथा उत्पादनमुखी बनाउन सबैको साथ, सहयोग, समन्वय र सहकार्य आवश्यक रहेको जानकारी गराउँदै कार्यसम्पादन करारबमोजिम कार्य समयमै प्रभावकारी र व्यवस्थितढंगले सम्पन्न गर्न र “सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता” भन्ने नारासाथ विद्यार्थी भर्ना वैशाख १ बाट सुरु गर्न पालिका शिक्षा प्रमुख साउदले अनुरोध गरेका छन् ।