साउन ६,काठमाडौं
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक आज पुनः ललितपुर च्यासलस्थित पार्टी मुख्यालयमा बस्दैछ।
बैठकमा केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राख्ने क्रम जारी रहेको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। उहाँका अनुसार उपाध्यक्ष विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रतिवेदन र महासचिव शंकर पोखरेलद्वारा पेश गरिएको संगठनात्मक प्रस्तावमाथि आज पनि केन्द्रीय सदस्यहरूको छलफल हुनेछ।
आजको बैठकमा कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूले प्रस्तावमाथि आफ्ना विचार प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
हिजोको बैठकमा गण्डकी, मधेस, प्रदेश विशेष र सम्पर्क समन्वय समितिबाट प्रतिनिधित्व गर्ने ४९ जना सदस्यले तीन मिनेटको समयसीमा भित्र रहेर धारणा राखेका थिए। पार्टी सचिवालय र पोलिटब्यूरोका सदस्यबाहेकका केन्द्रीय सदस्यहरूलाई मात्र धारणा राख्न दिइएको हो।
गौतमका अनुसार बैठकको समापनसँगै समसामयिक प्रस्तावहरू समेटिएको घोषणापत्र पनि आजै सार्वजनिक गरिनेछ।







