हेटौंडा, बागमती प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम परिषद् (TVET Council) हेटौंडा र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) बीच सीपमूलक तालिम सम्पन्न गरेका परीक्षार्थीहरूको राष्ट्रिय सीप परीक्षणका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ।
CTEVT केन्द्रीय कार्यालय, सानोगाउँ, भक्तपुरमा आयोजित औपचारिक कार्यक्रममा भएको यस सहमतिपत्र अनुसार अब बागमती प्रदेश परिषद्का प्रशिक्षार्थीहरूले राष्ट्रिय सीप परीक्षण समितिबाट प्रमाणिकरण परीक्षा दिन सक्नेछन्।
सम्झौतामा राष्ट्रिय सीप परीक्षण समितिका निर्देशक भुवनेश्वर ढुङ्गाना, उपनिर्देशक केशव घिमिरे, बागमती प्रदेश परिषद्का प्रमुख कार्यकारी निर्देशक शान्ति लामा र कार्यालय प्रमुख देवनारायण चौधरी सहभागी हुनुहुन्थ्यो।
सम्झौता पश्चात प्रदेशबाट तालिम लिएकाहरूले राष्ट्रिय मान्यताप्राप्त प्रमाणपत्र प्राप्त गर्न सक्ने भएपछि उनीहरूको रोजगार, स्वरोजगार र व्यवसायमा टेवा पुग्ने विश्वास गरिएको छ।
कार्यक्रममा बोल्दै निर्देशक शान्ति लामाले चालु आर्थिक वर्षमा अन्य निकायबाट तालिम लिइसकेका वा दोहोरिएर तालिम लिने प्रशिक्षार्थीहरूलाई सीप परीक्षणमा सहभागी नगराइने स्पष्ट संकेत दिनुभयो। उहाँले पहुँचको आधारमा पटक–पटक तालिम लिने प्रवृत्तिले साँच्चिकै सीप सिकेर आत्मनिर्भर बन्न चाहने युवाहरू ओझेलमा परेकोप्रति चिन्ता व्यक्त गरेका छन।
“अब तालिमका नाममा तालिम मात्र लिने होइन, सीप सिकेर व्यवसायिक बन्ने वातावरण बनाइन्छ,” उहाँले भन्नुभयो, “दोहोरिएको तालिम लिएका प्रशिक्षार्थीलाई परीक्षणमा सहभागी नगराइने छ।”
अर्कोतर्फ, निर्देशक लामाले आगामी आर्थिक वर्षमा बागमती प्रदेश सरकारले एक लाख भन्दा बढी नागरिकलाई सीप सिकाएर व्यवसायिक बनाउन लक्ष्य लिएको जानकारी समेत दिनुभयो। उहाँका अनुसार अब सरकारको ध्यान सिर्जनशील रोजगारी र आम्दानीमुखी कार्यक्रमहरूमा केन्द्रित हुनेछ।
सीप परीक्षणकै सन्दर्भमा, राष्ट्रिय सीप परीक्षण समितिका निर्देशकले सीप परीक्षण प्रशिक्षार्थीले तालिम लिएको स्थानमै पुगेर लिइने व्यवस्था गरिने जानकारी दिनुभयो, जसले स्थानीय स्तरमै परीक्षण सहज र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
संस्थागत समन्वय र प्रभावकारी कार्यान्वयनमार्फत अब सीपमूलक शिक्षा तथा तालिमले व्यावसायिकताको स्तर वृद्धि गर्दै स्वदेशमै रोजगार सिर्जना गर्ने अपेक्षा गरिएको छ।







